तेह्रथुम । प्रहरी कर्मचारीहरूको बिदा व्यवस्थापनसम्बन्धी दीर्घकालीन गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी नियमावली, २०७१ बमोजिम “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ ।
सार्वजनिक बिदाको दिन ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई कानूनी व्यवस्थाअनुसारे ‘सट्टा तलबी बिदा’ उपलब्ध गराउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख नायब उपरीक्षक (डिएसपी) लक्ष्मण ओलीले बताए ।
लामो समयदेखि प्रहरी संगठनभित्र आवश्यक परेको समयमा बिदा नपाउने, उपलब्ध बिदा पूर्ण रूपमा उपयोग गर्न नपाइने तथा यसका कारण व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा असर पर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त व्यवस्था व्यवहारिक रूपमा लागू गरिएको हो ।
प्रहरी नियमावली, २०७१ को परिच्छेद–८ अन्तर्गत नियम ८५ मा सार्वजनिक बिदाको दिन काम गर्ने प्रहरी कर्मचारीलाई एक पटकमा बढीमा सात दिनसम्म सट्टा तलबी बिदा दिन सकिने व्यवस्था छ । सोही कानूनी प्रावधानलाई कार्यान्वयन गर्दै लामो समयदेखि बिदा उपयोग गर्न नपाएका प्रहरी कर्मचारीलाई समेत अनिवार्य रूपमा बिदा उपयोग गर्न निर्देशन गरिएको प्रहरीले जनाएको छ ।
यसअन्तर्गत प्रहरी हवल्दार विशाल खड्का ‘सट्टा बिदा’ उपयोग गर्ने पहिलो प्रहरी कर्मचारी बनेका छन् । हालसम्म जिल्लाभरबाट ८ जना प्रहरी कर्मचारीले उक्त सुविधा उपयोग गरिसकेको डिएसपी ओलीले जानकारी दिए ।
प्रहरी कर्मचारीहरूको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक उत्तरदायित्व तथा पेशागत मनोबललाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको यो अभ्यासले प्रहरी संगठनभित्र कर्मचारीमैत्री कार्यसंस्कृति विकास, मनोबल अभिवृद्धि तथा जिम्मेवार सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
‘व्यवस्थित बिदा, सुदृढ मनोबल र जिम्मेवार सेवा’ भन्ने मान्यतालाई आत्मसात गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी कर्मचारीको हित, पेशागत अनुशासन तथा नागरिकप्रति उत्तरदायी सेवामा निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।
