काठमाडौं । बालेन्द्र शाह संसद्मा उपस्थित नभएपछि प्रतिनिधिसभाको बुधबारको बैठक तनावग्रस्त बनेको छ। सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि विपक्षी दलका सांसदले कडा विरोध जनाएका हुन्।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने उल्लेख थियो। तर बैठकअघि प्रधानमन्त्रीको सचिवालयले उनले संसद्मा सम्बोधन गर्ने कार्यक्रम नरहेको जानकारी गराएको थियो।
प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारको तर्फबाट स्वर्णिम वाग्लेलाई जवाफ दिन खटाइएपछि विपक्षी दल थप आक्रोशित बनेका थिए।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दलका सांसद निस्कल राईले प्रधानमन्त्रीले संसद्को गरिमा कमजोर बनाएको आरोप लगाउँदै विरोध जनाएका थिए।
त्यसपछि शून्य समयमा सांसदहरूले विभिन्न विषय उठाए पनि वातावरण सहज बन्न सकेन।
यहीबीच सत्तारुढ दलका सांसद मनिष खनाल ले एमाले सांसद रामबहादुर थापा ले अघिल्लो बैठकमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए।
उनको मागपछि सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा नियमावली विपरीत रहेका अभिव्यक्ति हटाउन संसद् सचिवालयलाई निर्देशन दिए।
सभामुखको उक्त निर्णयपछि विपक्षी दलका सांसदहरू एकैसाथ उठेर विरोधमा उत्रिएका थिए।
अर्जुननरसिंह केसी, गुरु बराल, युवराज दुलाल तथा ज्ञानेन्द्रबहादुर शाही लगायतले प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषयलाई लिएर चर्को आलोचना गरेका थिए।
सांसदहरूको विरोधका बीच सभामुख अर्यालले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि सहमति जुट्न सकेन। अन्ततः अवरोध कायमै रहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
