काठमाडौं । काठमाडौंको बागबजारस्थित हार्दिक होटल नजिकै सञ्चालनमा रहेको ‘खुसी इन्टरनेशनल कन्सल्टेन्सी’ पछिल्लो समय गम्भीर विवादमा तानिएको छ। ‘स्टडी इन साउथ कोरिया’ भन्ने नारासहित विद्यार्थीलाई कोरिया अध्ययनका लागि परामर्श दिने उक्त कन्सल्टेन्सीमाथि आवश्यकभन्दा अत्यधिक शुल्क असुल गरेको आरोप लागेको हो।
विद्यार्थीलाई भाषा कक्षा सञ्चालन गर्ने, विश्वविद्यालय छनोट गरिदिने, भिसा प्रक्रिया मिलाउनेदेखि कोरिया उडाउनेसम्मको प्याकेज भन्दै रकम उठाउने गरेको कन्सल्टेन्सीविरुद्ध अहिले कोरियामै रहेका नेपाली विद्यार्थीहरूले सामूहिक उजुरी दिएका छन्।
कोरियास्थित नेपाली दूतावासमार्फत शिक्षा मन्त्रालयसम्म पुगेको उजुरीमा खुसी इन्टरनेशनलसहित ७९ वटा कन्सल्टेन्सीविरुद्ध विद्यार्थी ठगीको आरोप लगाइएको छ। तीमध्ये सबैभन्दा धेरै रकम असुल गरेको सूचीमा खुसी इन्टरनेशनल अग्रस्थानमा रहेको उल्लेख गरिएको छ।
उजुरीमा उल्लेख भएअनुसार खुसी इन्टरनेशनल कन्सल्टेन्सीले मात्रै विद्यार्थीबाट ३४ करोड ८ लाख ५० हजार रुपैयाँ उठाएको दाबी गरिएको छ। यो रकम वास्तविक प्रक्रिया खर्चभन्दा धेरै बढी रहेको विद्यार्थीहरूको आरोप छ। उक्त कन्सल्टेन्सीले कतिपय विद्यार्थीबाट १० लाख रुपैयाँसम्म बढी शुल्क लिएको दाबी गरिएको छ।
कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ४ सय ४५ जना नेपाली विद्यार्थीले सामूहिक रूपमा दिएको उजुरीमा एउटै विश्वविद्यालय, एउटै प्रक्रिया र एउटै भिसामा गएका विद्यार्थीबाट समेत फरक–फरक शुल्क लिएको उल्लेख छ।
विद्यार्थीहरूले आफूहरूलाई ‘प्याकेज’, ‘फास्ट प्रोसेस’, ‘सिट कन्फर्म’, ‘भिसा ग्यारेन्टी’, ‘युनिभर्सिटी लिंक’ जस्ता शीर्षक देखाएर अतिरिक्त रकम तिराइएको बताएका छन्।
शिक्षा मन्त्रालय स्रोतका अनुसार उजुरी परेका ७९ वटा कन्सल्टेन्सीले कुल ७५ करोड ४१ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता गरेको आशंका गरिएको छ। अधिकांश रकम विद्यार्थी भिसा डी–२ र डी–४ प्रक्रियाका नाममा उठाइएको उल्लेख छ।
विद्यार्थीहरूका अनुसार कोरिया अध्ययनको सपना देखाइए पनि वास्तविक प्रक्रिया, विश्वविद्यालय शुल्क र कन्सल्टेन्सीले लिएको रकमबीच ठूलो अन्तर रहेको उनीहरूले पछि मात्रै थाहा पाएका थिए।
‘हामीले सबै प्रक्रिया आधिकारिक र वैधानिक होला भनेर विश्वास गर्यौं,’ कोरियामा अध्ययनरत एक विद्यार्थीले भने, ‘तर यहाँ आएपछि साथीहरूबीच तुलना गर्दा कसैले १२ लाख तिरेको रहेछ, कसैले २० लाख। एउटै प्रक्रिया भएर पनि किन यति फरक शुल्क लिइयो भन्ने प्रश्न उठ्यो।’
विद्यार्थीहरूका अनुसार कतिपय कन्सल्टेन्सीले ‘सिट सकिन लाग्यो’, ‘अहिले नगरे भिसा रोकिन्छ’, ‘कोरिया जान अन्तिम अवसर’ जस्ता मानसिक दबाब सिर्जना गरेर तत्काल रकम बुझाउन लगाउने गरेका छन्।
खुसीसँगै बागबजारमै रहेको एव्रोडहव, जिनियस कन्सलटेन्सी, गुडलाइक, इनोभा, आया एजुकेसन, स्टडी हब, युनिभा, बागबजारमा रहेको एड्भान्स, ब्ल्युवाटर, ब्राइट बेब, कन्क्वेस्ट, एडुनेस्ट, एकता, इङिलसेरर्स, भ्रेष्ट, एभ्रेष्ट लिंक, एक्स्ट्रा सोलुसन, फिस्टेल, फ्युचर पाठवेलगायत विरुद्ध पनि उजुरी परेको छ । कसले कति ठगी गरेको छ त्यो अर्को श्रृखंलामा।
उजुरी परेका ७९ मध्ये १४ वटा कन्सल्टेन्सी शिक्षा मन्त्रालय अन्तर्गत दर्ता रहेको पाइएको छ भने बाँकी विभिन्न प्रदेश सरकारअन्तर्गत दर्ता भएर सञ्चालनमा रहेका छन्।
यता, खुसी इन्टरनेशनल कन्सल्टेन्सीविरुद्ध नेपालमै उजुरी दिन खोज्ने विद्यार्थीका आफन्तले समेत दबाब र धम्की खेप्नुपरेको गुनासो गरेका छन्।
पीडित पक्षका एक आफन्तका अनुसार कन्सल्टेन्सी सञ्चालकले ‘उच्च तहका प्रहरी अधिकारीसँग सम्बन्ध रहेको’ भन्दै उजुरी नदिन चेतावनी दिने गरेका छन्। ‘प्रहरीसम्म पुगेर उजुरी हाल्ने प्रयास गर्दा उल्टै धम्की आएको छ,’ ती आफन्तले भने, ‘हामी डराएर बसेका छौं।’
विद्यार्थी तथा अभिभावकहरू अहिले शिक्षा मन्त्रालय, वैदेशिक अध्ययन अनुमति शाखा र प्रहरी प्रशासनले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिरहेका छन्।
पछिल्ला वर्षहरूमा दक्षिण कोरिया नेपाली विद्यार्थीका लागि आकर्षक अध्ययन गन्तव्य बन्दै गएको छ। यही आकर्षणलाई प्रयोग गर्दै केही कन्सल्टेन्सीले पारदर्शीभन्दा बढी ‘व्यापारिक’ शैली अपनाएको आरोपसमेत बढ्दै गएको छ।
विद्यार्थीहरूको सपना, अभिभावकको लगानी र विदेश अध्ययनको भविष्यसँग जोडिएको यो प्रकरणले नेपालमा शैक्षिक परामर्श व्यवसायको नियमनमाथि फेरि गम्भीर प्रश्न उठाएको छ।
यस विषयमा प्रतिक्रिया लिन खुसी इन्टरनेशनल कन्सल्टेन्सीका प्रतिनिधिसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। कन्सल्टेन्सीको नम्बरमा पटक–पटक फोन तथा म्यासेजमार्फत सम्पर्क गर्दा पनि समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।
