काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेले राजीनामा दिएको भन्ने हल्लामा कुनै सत्यता नरहेको जनाएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले सिइओ पाण्डे आफ्नो जिम्मेवारीमा सक्रिय रहेको बताएको छ ।
बैंकद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा यससम्बन्धी समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको उल्लेख छ । भनिएको छ, ‘बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा निरन्तर सक्रिय रहनुभएको जानकारी गराइन्छ ।’
हामीले उक्त बैंक र राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग सम्पर्क गर्दा पनि पाण्डेले राजीनामा दिएको खबरमा कुनै सत्यता नरहेको बताए । केन्द्रीय बैंकका एकजना कार्यकारी निर्देशकले भने, ‘आज बिहान ११ बजेसम्म हामी उक्त बैंकका उच्च अधिकारीहरुसँग कार्यालयको कामका सन्दर्भमा सम्पर्कमा छौं । बाहिर हल्ला गरिएझैँ कुनै खबर छैन ।’
जारी विज्ञप्तिमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकवर्ग,शेयरधनी तथा आम सर्वसाधारणप्रतिको आफ्नो विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
