बर्दिया । बर्दिया सदरमुकाम गुलरियाबाट लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले २८० ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषधको कारोबार भइरहेको विशेष सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज प्रमुख नवीन शाहीको कमाण्डमा गएको टोलीले २८० ग्राम खैरो हेरोइनसहित भारतको उत्तर प्रदेशस्थिर लखिमपुर खिरी थाना टिकुनिया ग्राम सुतना बसला बस्ने ३५ वर्षीय तेजेन्द्र कुमार र सोही स्थानका २० वर्षीय विजय सिंहलाई पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार आज साँझ साढे ६ बजे गुलरिया नगरपालिका–७ स्थित बाबा पेट्रोल पम्प नजिक उनीहरुलाई पक्राउ गरिएको हो।
लागुऔषध ब्यूरोको टोलीले उनीहरुको शरीर खानतलासी गर्दा तेजेन्द्र कुमारले लगाएको कालो पाइन्टको बाँया खल्तीभित्र लुकाई राखेको अवस्थामा लागूऔषध खैरो हेरोइन फेला परेको थियो। प्लाष्टिक हटाई शुद्ध तौल गर्दा उक्त पदार्थ २८० ग्राम रहेको लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जले जनाएको छ।
घटनास्थलबाट टोलीले ३ थान मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जले जनाएको छ।
