काठमाडौं । रामजी यादवले मन्त्री नियुक्त भएकै दिन आफ्नो सचिवालयमा नियुक्त गरेका एक कर्मचारी अपहरण तथा अमानवीय व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन्।
श्रममन्त्री यादवले चैत २७ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन मुस्तकिम मियालाई आफ्नो सचिवालय अन्तर्गत हलुका सवारी चालकका रूपमा नियुक्त गरेका थिए। मन्त्रालयले मन्त्रीलाई सरकारी चालक र सवारीसाधन उपलब्ध गराउने व्यवस्था हुँदाहुँदै पनि उनले छुट्टै रूपमा मियालाई नियुक्त गरेको खुलेको छ।
मन्त्री यादवकै हस्ताक्षर रहेको नियुक्तिपत्रका आधारमा सचिवालयमा कार्यरत मियालाई सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो।
प्रहरीले अपहरण तथा अपमानजनक र अमानवीय व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार मियासहित जुनेद मिया र आदित्यकुमार यादवविरुद्ध फागुन १४ गते एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको, नग्न बनाएर दुर्व्यवहार गरेको तथा नगद र गहना लुटेको आरोपमा जाहेरी परेको थियो।
जाहेरीअनुसार पीडितलाई राजविराजको हनुमानचोक क्षेत्रबाट मोटरसाइकलमा जबर्जस्ती लगिएको थियो। आरोपितहरूले उनलाई हिमालय राइस मिल पछाडिको क्षेत्रमा बन्धक बनाएको, बन्दुक देखाएर धम्क्याएको तथा कपडा खोल्न बाध्य पारी अपमानजनक व्यवहार गरेको उल्लेख छ।
पीडितलाई भुइँमा थुकेर चाट्न लगाएको, नग्न अवस्थामा जबर्जस्ती नाच्न बाध्य बनाइएको र घटना बाहिर ल्याए सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने धम्की दिइएको समेत जाहेरीमा उल्लेख गरिएको छ।
त्यसक्रममा पीडितसँग रहेको दुई तोलाको सुनको सिक्री, एक लाख २० हजार रुपैयाँ नगद र मोबाइल समेत लुटिएको दाबी गरिएको छ।
सोही उजुरीका आधारमा प्रहरीले वैशाख २४ गते अदालतसँग पक्राउ अनुमति मागेको थियो। अदालतबाट अनुमति पाएपछि वैशाख २८ गते मियालाई पक्राउ गरिएको हो। अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
यसअघि श्रम मन्त्रालय विवादकै कारण चर्चामा आएको थियो। तत्कालीन श्रममन्त्री दीपक साह नियुक्तिसम्बन्धी विवादमा पदबाट बाहिरिएपछि यादव मन्त्री बनेका थिए। अहिले भने मन्त्रीकै सचिवालयमा कार्यरत व्यक्ति गम्भीर आपराधिक आरोपमा पक्राउ परेपछि नयाँ विवाद उत्पन्न भएको छ।
