काठमाडौं । सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा राजस्व चुहावट रोक्ने जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल नेपाल पछिल्लो समय आफ्नै केही सदस्यको गतिविधिका कारण विवादमा तानिएको छ। विशेषगरी मधेश प्रदेशका सीमावर्ती नाकामा खटिएका केही सादा पोशाकधारी प्रहरी अर्थात् ‘घुमुवा’ हरूमाथि तस्करी सहजीकरणदेखि रकम असुलीसम्मका आरोप उठ्न थालेपछि संगठनभित्रै प्रश्न खडा भएको हो।
सुरक्षा स्रोतका अनुसार तत्कालीन आइजीपी राजु अर्यालको कार्यकालमा सचिवालयमा प्रभावशाली मानिएका एक डिएसपीमार्फत मधेशका विभिन्न नाकामा अनौपचारिक रूपमा घुमुवा परिचालन गरिएको थियो। दरबन्दी नै नभएका ती व्यक्तिहरूले मुख्यालयको नाम प्रयोग गर्दै जिल्लास्थित एसपी तथा युनिट कमाण्डरमाथि दबाब सिर्जना गर्ने गरेको आरोप छ।
मधेश प्रदेशका आठ जिल्लाका प्रमुख नाकामा खटाइएका ती घुमुवाले स्थानीय व्यापारीसँग नियमित लेनदेन गर्ने गरेको विवरण सुरक्षा निकायसम्म पुगेको स्रोत बताउँछ। कतिपय घटनामा बैंक कारोबार र भौचरसमेत फेला परेको दाबी गरिएको छ।
यो प्रकरण त्यसबेला थप चर्चामा आयो, जब महोत्तरीको मनराशिसवा नगरपालिका–२ क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको ठूलो परिमाणको चिनियाँ स्याउसहित तीन वटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लियो। बरामद गरिएको स्याउ करिब ६ हजार ९ केजी रहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार उक्त घटनाले सीमाक्षेत्रमा लामो समयदेखि ‘सेटिङ’ मार्फत तस्करी भइरहेको आशंका बलियो बनाएको थियो। महोत्तरीको सम्सी नाका विशेष रूपमा तस्करीको ट्रान्जिट बन्दै आएको र त्यहाँबाट मदिरा, फलफूललगायतका सामग्री भारत पठाउने तथा भारतबाट जुत्ता–चप्पल र दैनिक उपभोग्य सामग्री नेपाल भित्र्याउने काम हुँदै आएको बताइन्छ।
स्रोतका अनुसार त्यस क्षेत्रमा खटिएका केही सादा पोशाकधारी सुरक्षाकर्मीले रकम लिएर मालसामान वारपार गराउने गरेको सूचनापछि निगरानी बढाइएको थियो। त्यसक्रममै स्याउ बोकेको गाडी नियन्त्रणमा परेको बताइएको छ।
अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका सहायक हबल्दार सन्तोष यादव र राजिव यादवसँग सम्बन्धित बैंक खातामा व्यापारीबाट रकम जम्मा भएको विवरण फेला परेको दाबी गरिएको छ। एक व्यापारीले राष्ट्रिय वाणिज्य बैंकको खातामा दुई पटक गरी एक लाखभन्दा बढी रकम पठाएको देखिएको स्रोतको भनाइ छ।
सुरक्षा निकायका अधिकारीहरूका अनुसार मुख्यालयको पहुँच प्रयोग गरेर घुमुवाहरूले जिल्लास्थित कमाण्डलाई समेत दबाब दिने गरेको गुनासो बढ्दै गएको छ। त्यसका कारण सीमामा खटिएका इमानदार अधिकृतहरू समेत समस्यामा परेको बताइन्छ।
यता, मधेश प्रदेशमा तस्करी नियन्त्रणका नाममा विभिन्न समयमा कडाइको घोषणा भए पनि व्यवहारमा भने अवैध कारोबार रोकिएको देखिँदैन। स्थानीयवासीका अनुसार सर्वसाधारणले सामान्य सामान ल्याउँदा कडाइ भोग्नुपरे पनि संगठित तस्करी भने सेटिङकै आधारमा चलिरहेको छ।
सीमा क्षेत्रमा हुने यस्ता गतिविधिले केवल राजस्व चुहावट मात्र होइन, सुरक्षा निकायको विश्वसनीयतामै गम्भीर प्रश्न उठाएको जानकारहरू बताउँछन्। संगठनभित्रैबाट हुने संरक्षण र दबाबको निष्पक्ष छानबिन नभएसम्म तस्करी नियन्त्रण चुनौतीपूर्ण रहने उनीहरूको भनाइ छ।
अब यो प्रकरणलाई हालका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कसरी लिन्छन् भन्ने चासो बढेको छ। विवादित भनिएका घुमुवाहरूलाई फिर्ता बोलाएर अनुसन्धान अगाडि बढाइन्छ या उनीहरूलाई निरन्तरता दिइन्छ भन्ने विषयले संगठनभित्र र बाहिर दुवैतर्फ अर्थ राख्ने देखिन्छ।
पदभार ग्रहणपछि महानिरीक्षक पौडेलले संगठनको हितविपरीत काम गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याइने बताएका थिए। मधेशका सीमाक्षेत्रसँग जोडिएको यो विवादमा उनले कस्तो कदम चाल्छन् भन्नेमा अहिले सुरक्षा वृत्तिको नजर केन्द्रित भएको छ।
