काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति पाउन अन्डरवर्ल्ड शैलीमा धम्की र दबाब सिर्जना गरेको आरोपमा थप पाँचवटा मुद्दा दायर गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा अधिकारीसहित प्रकाश पाठक र ताराप्रसाद खरेल विरुद्ध मुद्दा दायर गरेको हो।
उनीहरुविरुद्ध ज्यान मार्ने आपराधिक षड्यन्त्र, आपराधिक लाभ, संगठित अपराध, विद्युतीय कारोबार ऐन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग लगाइएको छ।
प्रहरी अनुसन्धानअनुसार भ्रष्टाचार मुद्दा प्रभावित पार्न ‘एक्ट्रिमिस्ट ग्रुप नेपाल’ नाम प्रयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायत उच्चपदस्थ व्यक्तिलाई धम्की दिने काम गरिएको थियो। उक्त गतिविधि अधिकारीकै योजनाअनुसार भएको दाबी गर्दै प्रहरीले प्रमाणसहित मुद्दा अदालतमा पेश गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले करिब तीन महिना लामो अनुसन्धानपछि सरकारी वकिलमार्फत अदालतमा मुद्दा दर्ता गरिएको जानकारी दिएका छन्।
यस प्रकरणका मुख्य आरोपितमध्येका पाठकलाई गत २८ माघमा फिलिपिन्सबाट इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो। अनुसन्धानका क्रममा उनले अधिकारीबाट हुन्डीमार्फत करिब दुई करोड रुपैयाँ प्राप्त गरेको बयान दिएका छन्। उक्त रकम अख्तियार प्रमुखलाई धम्क्याउने गतिविधिमा प्रयोग गरिएको प्रहरी दाबी छ।
हाल अधिकारी भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्। उनीविरुद्ध यसअघि नै चारवटा भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्।
प्रहरी स्रोतका अनुसार अनुसन्धानमा अधिकारीले भ्रष्टाचार मुद्दा कमजोर बनाउन राजनीतिक पहुँच प्रयोग गर्ने, अन्डरवर्ल्ड शैलीमा दबाब सिर्जना गर्ने तथा तान्त्रिक गतिविधिसमेत प्रयोग गरेको खुलेको छ।
त्यस्तै, ‘जेनजी आन्दोलन’ पछि आफूलाई जेनजी अभियन्ता बताउने केही व्यक्तिलाई रकम दिएर अख्तियार प्रमुखको राजीनामा माग्दै सार्वजनिक दबाब सिर्जना गर्न लगाइएको विवरणसमेत प्राविधिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दाबी छ।
यद्यपि, यस प्रकरणमा नाम जोडिएका नवीन बस्नेतसहित केही व्यक्तिविरुद्ध पर्याप्त प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरिएको बताइएको छ।
अनुसन्धानकै क्रममा पाठकले कान्तिपुर डेन्टल कलेजका सञ्चालकलाई धम्क्याएर तारादेवी खरेलको नाममा रहेको ‘थ्रीस्टार फेन्सी स्टोर’ खातामा पाँच लाख रुपैयाँ जम्मा गराएको देखिएको प्रहरीले जनाएको छ। सोही आधारमा खरेललाई पनि प्रतिवादी बनाइएको हो।
