काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनलाई लक्षित गर्दै देशभरका ६ हजार ७४३ वटै वडामा क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने कार्य तीव्र रूपमा अघि बढाएको जनाएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बर ९७०१२५५५५५ मा सूचीकृत गराउन आग्रह गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘१५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक गराउने प्रक्रियामा आफ्नो आधिकारिक मोबाइल नम्बर मार्फत नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आधिकारिक मोबाइल नम्बर ९७०१२५५५५५ मा आफ्नो मोबाइल नम्बर सूचीकृत गराउन एकपटक सम्पर्क गर्न नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई अनुरोध गरिन्छ ।’
सदस्यहरूले एकपटक उक्त नम्बरमा सम्पर्क गरी आफ्नो मोबाइल नम्बर दर्ता गराएपछि वडा सभापतिमार्फत क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रिया सहज, छिटो तथा व्यवस्थित हुने जनाएका छन्।
पार्टीको निर्णय अनुसार सदस्यता अद्यावधिक कार्य जारी राखेपनि पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएको छैन। सो समूहले १५ औँ महाधिवेशनको लागि सदस्यता अद्यावधिक भइरहेको जिकिर गर्दै गगन नेतृत्वको कार्यसमितिले गराएको अद्यावधिक स्वीकार नगर्ने अडान लिइरहेको छ।
