काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा उच्च तहमा व्यापक बढुवा गरिएको छ। गृह मन्त्रालयले ७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गरेको हो।
वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त पदका लागि गरेको सिफारिसका आधारमा गृह मन्त्रालयले बढुवा निर्णय कार्यान्वयन गरेको जनाएको छ।
एसएसपीमा बढुवा हुने अधिकृतहरूमा दीपककुमार थापा, सुधीर सुबेदी, महेश केसी, प्रकाशकुमार सुबेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी तथा प्रदीपसिंह कार्की रहेका छन्।
यस्तै गृह मन्त्रालयले सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी) पदमा समेत बढुवा गरेको छ। बढुवा समितिको सोही बैठकको सिफारिसअनुसार उनीहरू डीआईजीमा उक्लिएका हुन्।
बढुवा भएका अधिकृतहरूलाई सोमबार सशस्त्र प्रहरी बल मुख्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिने तयारी गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई फुली लगाइदिने कार्यक्रम रहेको बताइएको छ।
![सशस्त्र प्रहरीका ७ एसपी एसएसपीमा बढुवा [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/APF.webp)