काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले लुटपाटको प्रयासलाई साहसपूर्वक विफल पार्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन्।
काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दुई जना व्यक्तिले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यले आतंक सिर्जना गरेका थिए।
उक्त विषम परिस्थितिमा काठमाडौं महानगरपालिका–२२ वटु निवासी सञ्जिता शाक्यले आफ्नो ज्यानको पर्वाह नगरी साहस, आत्मविश्वास र उच्च नागरिक दायित्व प्रदर्शन गर्दै लुटेराको प्रयास असफल बनाएकी थिइन्।
उक्त साहसिक कार्यको कदर गर्दै प्रहरी महानिरीक्षक कार्कीले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
सम्मान कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सञ्जिता शाक्यले विषम परिस्थितिमा देखाएको अदम्य साहस, सतर्कता र जिम्मेवारीबोधको प्रशंसा गरे। उनले सभ्य र सुरक्षित समाज निर्माण तथा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी र नागरिकबीचको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि नागरिकसँगको सहकार्य र प्रविधिको प्रभावकारी प्रयोगलाई उच्च प्राथमिकतामा राखी काम गरिने बताए बताए ।
