रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोपमा एक दलित महिलामाथि गरिएको अमानवीय र जघन्य व्यवहारले मानवताको सीमालाई नै चुनौती दिएको छ।
कटहरिया–९, डुमरिया मुसहरी टोलकी करिब ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई स्थानीय व्यक्तिहरूको समूहले जबरजस्ती मानव मलमूत्र खुवाएको घटना सार्वजनिक भएको हो।
घटना शनिबार साँझ करिब ७ बजे भएको हो। छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा पर्साबाट आएको जन्तीमा सहभागी एक १० वर्षीय बालक अचानक बिरामी भई बान्ता गरेपछि त्यसैलाई निहुँ बनाएर ‘जादुटुना गरेको’ आरोप लगाउँदै करिब १५–२० जनाको समूहले मुसहरिनमाथि आक्रमण गरेको आरोप छ।
पीडितकी छोरी सुमिला देवी मुसहरिनका अनुसार, ‘हामी आमा–छोरी मात्रै घरमा थियौँ। एक्कासि भीड घरभित्र पस्यो र आमालाई समातेर बियरको बोतलमा घोलेर ल्याएको मलमूत्र जबरजस्ती ख्वायो।’ उनले विरोध गर्दा सामान्य कुटपिटसमेत गरिएको बताइन्।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरियाबाट सई मोहन आले मगरको नेतृत्वमा पुगेको टोलीले अचेत अवस्थामा रहेकी महिलाको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो। उपचारपछि उनको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, घटनास्थलमा पुगेको टोलीमाथि स्थानीय भीडले आक्रमणको प्रयाससमेत गरेको थियो। हाल पीडितलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ भने संलग्न आरोपीहरूको खोजी कार्य तीव्र पारिएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यले घटनाको गम्भीर अनुसन्धान भइरहेको र दोषी जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने बताएका छन्। उनकाअनुसार थप अनुसन्धानका लागि इन्स्पेक्टरको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ।
स्थानीय मुसहर समुदायमा विवाहपछिको ‘सरियतिया’ (छोरी पक्षको जन्ती) आउने परम्परा रहँदै आएको छ, जहाँ भोज तथा मदिरा सेवन गरिन्छ। तर यही परम्पराको बीचमा फैलिएको अन्धविश्वासले यस्तो जघन्य अपराध निम्त्याएको देखिन्छ।
पीडित परिवारका अनुसार, घटनामा पुकार माझी मुसहर, राजेन्द्र माझी मुसहर, लक्ष्मी माझी मुसहर, शंकर माझी मुसहर, सुरेन्द्र ठाकुर लोहार र गौरी साह कलवार लगायत संलग्न छन्।
यो घटना केवल एक व्यक्तिमाथिको अत्याचार मात्र नभई समाजमा अझै गहिरो जरा गाडेर बसेको अन्धविश्वास, जातीय विभेद र कानुनी चेतनाको अभावको भयावह चित्र हो।
