रौतहट । झण्डै दुई दशकसम्म रहस्यको पर्दाभित्र लुकेको एक दर्दनाक पारिवारिक हत्याकाण्ड अन्ततः सार्वजनिक भएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यको सुझबुझ, धैर्य र निरन्तर सक्रियताले १८ वर्षपछि चकित पार्ने तथ्य बाहिर आएको हो- बाबुको हत्यामा आफ्नै छोरा संलग्न रहेको पुष्टि भएको छ।
२०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ (साबिक जयमनगर–४) का ६८ वर्षीय विशेष महतो कोईरीको निर्मम हत्या भएको थियो। घटनापछि प्रारम्भिक अनुसन्धानकै क्रममा उनका कान्छा छोरा राम बिलास महतोमाथि शंका गरिएको थियो। तर उनी परिवारसहित फरार भएपछि घटना लामो समयसम्म रहस्यमै सीमित रह्यो।
समय बित्दै जाँदा अनुसन्धानका फाइलहरू थन्किएका थिए। तर डीएसपी आचार्यले पुराना कागजात पुनः अध्ययन गर्दै घटनाको गहिराइमा पुग्ने प्रयास थाले। एउटै घरभित्र हातखुट्टा बाँधेर हत्या गरिएको, तर छिमेकीलाई समेत सुइँको नपुगेको तथ्यले प्रहरीलाई ‘घरभित्रकै षड्यन्त्र’ तर्फ संकेत गर्यो।
त्यसपछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढायो। अनुसन्धानको क्रममा फतुवा विजयपुर हुँदै बारा जिल्लाको कोल्हवीसम्म पुगेको सुराकी भेटियो। अन्ततः आफन्तमार्फत प्राप्त सूचनाका आधारमा फरार आरोपी चितवनको माडी क्षेत्रमा रहेको जानकारी प्राप्त भयो। डीएसपी आचार्यका अनुसार मोबाइल ट्र्याकिङमार्फत उनको लोकेसन पुष्टि गरिएको थियो।
लगातार चार महिनाको निगरानी र गोप्य अपरेशनपछि गरुडाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चितवन प्रहरीको सहयोगमा माडीमा फलफूल व्यवसाय गर्दै बसेका राम बिलास महतोलाई पक्राउ गर्न सफल भयो।
प्रहरी अनुसन्धानअनुसार बाबुले लिएको ऋण तिर्न नसक्ने अवस्था, आर्थिक दबाब र जग्गा विवादबाट उन्मुक्ति पाउन महतोले योजनाबद्ध रूपमा आफ्नै बाबुको हत्या गरेका थिए। उनी सुतिरहेको अवस्थामा हातखुट्टा बाँधेर धारिलो हतियारले आक्रमण गरिएको खुलेको छ। साथै घटनालाई मोडेर निर्दोष व्यक्तिलाई फसाउने योजना समेत रहेको प्रहरीको दाबी छ।
लामो समयदेखि फरार रहेका आरोपीलाई गत बुधबार पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले घटनाको पुष्टि गर्दै आर्थिक दबाब, ऋणको भार र जग्गा विवादबाट उन्मुक्ति पाउने उद्देश्यले महतोले योजनाबद्ध रूपमा आफ्नै बाबुको हत्या गरेको स्पष्ट पारेका छन्।
यस घटनाले पारिवारिक सम्बन्ध र विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। तथापि, १८ वर्षपछि पनि अपराधी कानुनको कठघरामा आउनुले न्याय प्रणालीप्रति विश्वास अझ मजबुत बनेको छ- ढिलो भए पनि न्याय अवश्य हुन्छ भन्ने सन्देशका साथ।
