काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरस्थित प्रदेश प्रहरी कार्यालय यतिबेला आन्तरिक विवादको केन्द्रमा देखिएको छ। प्रदेशका आठवटै जिल्लाको सुरक्षा संयन्त्र सम्हाल्ने यो कार्यालयभित्र ‘लाइन’ खोल्ने विषयलाई लिएर टकराव उत्पन्न भएको छ।
प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जिल्लागत प्रहरी प्रमुखहरूलाई ‘लाइन’ खुलाउन निर्देशन दिएको आरोप छ। तर, उक्त निर्देशनलाई केही प्रहरी उपरीक्षक (एसपी)हरूले अस्वीकार गरेपछि अवस्था झन् जटिल बन्दै गएको बताइन्छ।
विशेषगरी जिल्ला प्रहरी कार्यालय धनुषा र पर्साका एसपी र डिआइजी थपलियाबीच सम्बन्ध चिसिएको चर्चा छ। स्रोतका अनुसार, ‘लाइन’ खोल्न अस्वीकार गरेपछि एसपीद्वयमाथि प्रत्यक्ष र अप्रत्यक्ष दबाब बढाइएको छ।
प्रदेश प्रहरी कार्यालयमा कार्यरत दुईजना नायब निरीक्षक (सइ) गोपाल थापामगर र जयलाल यादवले पटक–पटक जिल्ला प्रहरी कार्यालय धाएर ‘लाइन’ खुलाउन आग्रह गर्ने गरेका छन्।

‘डिआइजी साब तयार हुनुहुन्छ, अब हजुरले ढिला गर्नु भएन,’ भन्ने सन्देश लिएर उनीहरू एसपीको कार्यकक्षमै पुग्ने गरेको एक प्रहरी स्रोतले जनाएको छ।
तर, एसपीहरु भने आफ्नो अडानबाट पछि हटेका छैनन्। ‘कुनै पनि हालतमा लाइन खुल्दैन,’ भन्ने स्पष्ट सन्देश उनले दिएका छन्। त्यसपछि धनुषा र पर्साबाट हुने कतिपय समन्वय र सम्पर्कमा समेत अवरोध आएको बताइन्छ।
यो विवाद यी दुई जिल्लामै सीमित छैन। अन्य जिल्लाहरूमा पनि ती दुई सईको प्रभाव देखिएको र उनीहरूले जिल्लाजिल्ला पुगेर रकम संकलन गर्ने जिम्मेवारी पाएको आरोप छ। स्रोतहरूका अनुसार, ‘लाइन’ सञ्चालनसँगै आर्थिक संकलनको समानान्तर संरचना समेत सक्रिय रहेको आशंका गरिएको छ।
अझ, सप्तरी जिल्लाका एसपी गौतम केसीजस्ता इमान्दार अधिकृतसँग समेत डिआइजी थपलियाले ‘लाइन’ सम्बन्धी कुरा उठाएको चर्चा छ। यसले प्रदेश प्रहरी संगठनभित्रै ‘लाइन’ प्रणालीलाई संस्थागत बनाउन खोजिएको संकेत गर्ने केही अधिकारीहरूको भनाइ छ।
यद्यपि, यी गम्भीर आरोपबारे प्रदेश प्रहरी कार्यालयले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, प्रहरी संगठनभित्र उठेका यस्ता विषयले संस्थाको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
दुई सइले मधेसमा कसरी राजगज गरिरहेका छन् ? त्यो अर्को श्रृङ्खलामा
