काठमाडौं । भदौ २३–२४ मा भएको “जेन जी” प्रदर्शनका क्रममा देखिएको विध्वंस र सुरक्षा निकायको भूमिकामाथि थप छानबिन गर्न सरकारले नयाँ समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो।
समितिमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी सदस्य रहेका छन्।
यसअघि पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले सुरक्षा संयन्त्रभित्र थप गहिरो अनुसन्धान आवश्यक ठानेपछि नयाँ समिति गठन गरेको हो।
उक्त घटनाले राजनीतिक रूप लिएपछि परिस्थिति झन् जटिल बनेको थियो। भोलिपल्ट बिहानै एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परे। यद्यपि, सर्वोच्च अदालतको आदेशपछि उनीहरू केही दिनमै हिरासतमुक्त भएका छन्।
हालसम्म सरकारले उनीहरूविरुद्ध औपचारिक मुद्दा दर्ता गर्न सकेको छैन। स्वास्थ्य समस्याका कारण केपी शर्मा ओली अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन्।
यसैबीच, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छबि रिजाल लाई पनि पक्राउ गरिएको थियो, तर सोही दिन साँझ उनी रिहा भएका थिए।
समग्र घटनाक्रमले ‘जेन जी’ प्रदर्शनको विषय केवल सुरक्षा चासोमै सीमित नरही राजनीतिक बहसको केन्द्र बन्न पुगेको देखिएको छ।
