काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार साँझ भएको सडक दुर्घटनामा ट्राफिक प्रहरी निरीक्षक अभय लामा गम्भीर घाइते भएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा ड्युटी सकेर फुटुङतर्फ कोठा जाँदै गर्दा उनी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बा.प्रा. ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकलमा रहेका लामालाई बा.प्रा. ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको हो। दुर्घटनालगत्तै उनलाई तत्काल महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ।
दुर्घटनामा लामाको टाउको, अनुहार, छाती तथा हातखुट्टासहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ। उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
घटनामा संलग्न ट्रक र चालक मकवानपुर मनहरी गाउँपालिका–५ निवासी ३८ वर्षीय आइतराम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
२०७२ सालमा प्रहरी सेवामा प्रवेश गरेका लामा खुला प्रतिस्पर्धामार्फत प्रहरी सहायक निरीक्षक हुँदै निरीक्षक पदमा उक्लिएका थिए। हाल उनी ट्राफिक व्यवस्थापनमा सक्रिय रूपमा कार्यरत थिए।
