पोखरा । कास्की प्रहरीले लागुऔषध कारोबारमा संलग्न एक युवतीलाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत कुश्मा घर भई हाल पोखरा–२९ बस्दै आएकी २६ वर्षीया सिमा दर्जी रहेकी छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त टोलीले उनलाई पोखराको सैनिक बस्ती क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार दर्जीको साथबाट डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिन गरी ८ एम्पुल लागुऔषध, दुई थान मोबाइल र नगद ४ लाख १ हजार रुपैयाँ बरामद गरिएको छ।
पक्राउ परेकी दर्जीमाथि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
अनुसन्धानका क्रममा दर्जी यसअघि पनि लागुऔषध मुद्दामै दोषी ठहर भई कास्की कारागारमा सजाय काटिरहेकी कैदी रहेको खुलेको छ। तर, गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’को मौका छोपेर उनी कारागारबाट फरार भएको प्रहरीले जनाएको छ।
जेलबाट फरार भएपछि पुनः लागुऔषध कारोबारमा सक्रिय बनेकी दर्जी अन्ततः नगदसहित प्रहरीको फन्दामा परेकी हुन्।
