काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिका लागि दरखास्त आह्वान गरेको छ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जनाएको छ।
सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, प्रहरी अस्पताल लगायतका निकायका लागि ६०७ पदमा नयाँ कर्मचारी भर्ना गर्न लागिएको सूचनामा उल्लेख छ।
सूचना अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकका लागि यही चैत २५ गतेदेखि आगामी वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ।
त्यसैगरि प्राविधिक प्रहरी जवानका लागि यही चैत २६ गतेदेखि आगामी वैशाख ३१ गतेसम्म निवेदन दिन सकिने सूचनामा उल्लेख छ।


