काठमाडौं । फेसबुकमा नक्कली खाता खोली च्याटमा कुराकानी गरी ९० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका(६ घर भई हाल कास्की पोखरा महानगरपालिका–१६ बस्ने ५० वर्षीया वनकुमारी गुरुङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
उनले भने, ‘फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी आकर्षक तलब, सुविधामा जापान पठाइदिने भनी चारजना पीडितहरूलाई व्यक्तिगत कागजातसमेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटकपटक गरी ९० लाख जम्मा गर्न लगाई ठगी गरेको पाइयो ।’
गुरुङलाई कास्की प्रहरीको समन्वयमा बुधबार पक्राउ गरी बिहीबार ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
