काठमाडौं । ट्राफिक नियम बारम्बार उल्लंघन गर्ने तथा जरिवाना तिर्नसमेत बेवास्ता गर्ने चालकहरूविरुद्ध कडा कदम चाल्दै लाइसेन्स खारेज गर्ने प्रक्रिया सुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले यातायात व्यवसायी तथा मजदूर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा यस्तो जानकारी दिएका हुन्। उनले लापरवाहीपूर्वक सवारी चलाउने र नियम उल्लंघनलाई सामान्य रूपमा लिने प्रवृत्तिमा अब कडाइ गरिने स्पष्ट पारे।
उनले ट्राफिक व्यवस्थापनको मुख्य उद्देश्य नै सडकमा अनुशासन कायम गर्नु र चालकहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु रहेको बताए। प्रहरी पनि समाजकै हिस्सा भएकाले आफ्ना कमी–कमजोरी सुधार्दै अघि बढ्ने उनले उल्लेख गरे।
एसएसपी अधिकारीले राजश्व खातामा गइसकेको जरिवाना ट्राफिक प्रहरीले मिनाहा गर्न नसक्ने स्पष्ट पार्दै नियम उल्लंघन गर्ने जो–कोहीमाथि कारबाही हुने बताए। सार्वजनिक यातायात क्षेत्रमा केही खराब आचरण भएका चालकका कारण अधिकांश जिम्मेवार श्रमिकहरू बदनाम भइरहेको उनको भनाइ छ।
यातायात क्षेत्रमा प्रचलित ‘ठेक्का प्रणाली’ का कारण चालकहरूबीच प्रतिस्पर्धा बढ्दै जाँदा तीव्र गतिमा सवारी चलाउने र असुरक्षित व्यवहार देखिने गरेको उनले बताए। यसको विकल्पका रूपमा ई–टिकटिङ तथा अनलाइन प्रणालीमा जान उनले व्यवसायीहरूलाई सुझाव दिए।
त्यस्तै, बिहानको समयमा स्कुल बस तथा सार्वजनिक सवारीका चालकहरू मादक तथा लागू पदार्थ सेवन गरेर सवारी चलाएको भेटिने क्रम बढ्दो रहेको उल्लेख गर्दै ट्राफिक प्रहरीले यसमा कडा निगरानी र कारबाही गर्ने चेतावनी दिएको छ।
