दाङ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतीक भएको बताएका छन्।
बिहीबार इलाका प्रहरी कार्यालय गढवाको परिसरमा आयोजित कार्यक्रममा उक्त सेवा केन्द्रको कार्यालय भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ भवनले नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद बनाउने र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा संरक्षणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमका अवसरमा आईजीपी कार्कीले भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए। साथै, भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
उनले बेलायत सरकारको सहयोगमा नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार विस्तार, प्रशिक्षण तथा समुदायसँगको सहकार्यमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै भवन निर्माणमा सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे।
आईजीपी कार्कीले नवनिर्मित भवनले सेवा प्रवाहलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी बनाउने उल्लेख गर्दै पीडित नागरिकको गुनासो सम्बोधन गर्न सक्षम हुने विश्वास व्यक्त गरे। उनले प्रहरी कर्मचारीहरूलाई नागरिकप्रति अझ संवेदनशील भई बोली, व्यवहार र कार्यशैलीमा सुधार गर्न निर्देशन समेत दिए।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) भुपेन्द्र बहादुर खत्री, दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए। UNOPS का प्रतिनिधिहरूले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
बेलायत सरकारको सहयोगमा करिब २ करोड ६० लाख रुपैयाँभन्दा बढी लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न सुरक्षा निकाय, सरकारी कार्यालय, राजनीतिक दल, संघसंस्था, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
