काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र असुरक्षित अवस्थाका कारण नियमित हवाई उडानहरू फेब्रुअरी २८, २०२६ देखि स्थगित भएपछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै नेपाली नागरिकहरूको उद्धार तथा आवागमन सहज बनाउन विशेष उडान सञ्चालन गरिने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार फेसबुकमा स्ट्याटस राख्दै उक्त जानकारी दिएका हुन्। उनले बताए अनुसार, परिस्थितिलाई ध्यानमा राख्दै नेपाल वायुसेवा निगमले आगामी अप्रिल ३ देखि ५ तारिखसम्म विभिन्न गन्तव्यहरूमा विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको हो।
यसैबीच, उनले अप्रिल १ मा कुवेत एयरवेजको एक उडानमार्फत २९१ जना नेपाली नागरिक स्वदेश फर्किएको जानकारी दिएका छन्। सोही उडानबाट विभिन्न कारणले निधन भएका ९ जना नेपाली नागरिकहरूको शवसमेत नेपाल ल्याइएको उनले उल्लेख गरेका छन्।
सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक थप कदम चाल्ने जनाएको छ।
उनले विशेष उडानहरूको व्यवस्थापन तथा सञ्चालनमा सहयोग पुर्याएकोमा नेपाल एयरलाइन्स र राष्ट्रिय बीमा कम्पनी लिमिटेडप्रति कृतज्ञता व्यक्त गरेका छन्। साथै, कठिन परिस्थितिका बीच समन्वय गर्ने अन्य सरोकारवाला निकायहरूलाई पनि धन्यवाद दिइएको छ।
