नवलपरासी । प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले प्रहरी संगठनका सदस्यहरूलाई कार्यक्षेत्रमा कुनै पनि प्रकारका प्रलोभन, भय वा दबाबमा नपरी कानुनको मार्गमा अडिग रहन निर्देशन दिएका छन्।
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सञ्चालित ११औँ समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले जनअपेक्षाअनुसार कानुनसम्मत र विश्वासयोग्य सेवा प्रवाह गर्न सके मात्रै नागरिकले वास्तविक शान्ति सुरक्षाको अनुभूति गर्न सक्ने बताए।
उनले तालिमका क्रममा आर्जन गरिएको ज्ञान, सीप, कौशल, आत्मविश्वास र साहस देशको आन्तरिक सुरक्षा, विपद् तथा प्रकोप व्यवस्थापन, आतंकवाद नियन्त्रण तथा विशिष्ट व्यक्तिको सुरक्षामा महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे।
साथै, तालिमबाट प्राप्त दक्षता व्यावसायिक जीवनसँगै व्यक्तिगत जीवनका विभिन्न पक्षमा समेत उपयोगी हुने उल्लेख गर्दै अनुशासित जीवनशैली अपनाउन आग्रह गरे।
प्रहरी महानिरीक्षक कार्कीले शारीरिक तथा मानसिक रूपमा कठिन भए पनि कमाण्डो तालिम गौरवपूर्ण रहेको उल्लेख गर्दै सफलतापूर्वक तालिम सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।
समारोहमा उनले तालिममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै प्रशिक्षक तथा तालिम सफल पार्न योगदान पुर्याउने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरे। सो अवसरमा महाविद्यालय परिसरमा नवनिर्मित ‘आर्म ब्याज’ नमुना स्तम्भको अनावरण समेत गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गरेका थिए भने नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य अनुपम शमशेर ज.ब.रा ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
तालिम संयोजक प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीका अनुसार ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ७ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ६८ जना गरी जम्मा ९३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
समारोहमा प्रशिक्षार्थीहरूले बाधापार, हतियार खोलजोड, स्यान्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अपरेशन, फायर एन्ड मुभ, खाली हात लडाइँ तथा एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजलसम्बन्धी विभिन्न डेमोन्स्ट्रेशन प्रस्तुत गरेका थिए।
कार्यक्रममा सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्याल, नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, वरिष्ठ प्रहरी अधिकृत तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
