सुर्खेत । वीरेन्द्रनगरमा सोमबार साँझ आयोजित नेकपा एमालेको मसाल जुलुसका क्रममा एक अप्रिय घटना भएको छ। प्रदर्शनका बीच एक जना प्रदर्शनकारीले प्रहार गरेको मुक्काबाट प्रहरी निरीक्षक राजन भट्टराई घाइते भएका छन्। उनको माथिल्लो अगाडिको दाँत भाँचिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेको अगुवाइमा वीरेन्द्रनगर–६ स्थित हटिया चोकबाट मसाल जुलुस निकालिएको थियो। जुलुस अघि बढ्दै वीरेन्द्र चोक पुगेर पुनः पार्टी कार्यालयतर्फ फर्किएको थियो।
प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार सोही क्रममा सुरक्षा व्यवस्थापनमा खटिएका प्रहरी निरीक्षक भट्टराईमाथि एक्कासि आक्रमण भएको हो। ‘भीड नियन्त्रणकै क्रममा एक प्रदर्शनकारीले अचानक मुक्का प्रहार गर्दा उहाँ घाइते हुनुभयो,’ उनले भने।
घटनापछि आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा भीड तितरबितर भएको थियो। भागदौडकै क्रममा एक प्रदर्शनकारी लडेर टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते प्रहरी निरीक्षक र उक्त प्रदर्शनकारी दुवै उपचारपछि डिस्चार्ज भइसकेका छन्। तर प्रहरीमाथि हातपात गर्ने व्यक्ति भने हालसम्म फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
यसैबीच, एमाले कार्यकर्ताहरूले भने प्रहरीबाट दमन भएको आरोप लगाएका छन्।
