काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई जनमैत्री र नमुना संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित सुधारको आवश्यकता औँल्याएका छन्।
सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा उनले डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग लगायतका विभिन्न इकाइको अवलोकन गरेका थिए।
त्यसपछि आयोजित कार्यक्रममा प्रहरी उच्च अधिकृतहरुलाई सम्बोधन गर्दै उनले सर्वसाधारणसँग गर्ने बोली र व्यवहारमा सुधार ल्याउन विशेष निर्देशन दिए।
‘प्रहरीको छवि जनतासँगको व्यवहारबाटै देखिन्छ, त्यसैले तपाईंहरूको बोली र व्यवहार नमुना हुनुपर्छ,’ उनले भने।
गृहमन्त्री गुरुङले प्रहरीको आधारभूत सुविधा सुधार गर्न सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारे। उनले प्रहरीका लागि आवश्यक रासन व्यवस्थादेखि अनुसन्धानमा अत्याधुनिक प्रविधि भित्र्याउने काम सरकारले गर्ने उल्लेख गर्दै जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे।
त्यसैगरी, उनले प्रहरीका लागि आवश्यक पोशाक उत्पादनका लागि स्वदेशमै उद्योग स्थापना गर्नुपर्ने धारणा पनि राखे। ‘स्रोत र साधनहरू गुणस्तरीय बनाउनुपर्छ, त्यसका लागि दीर्घकालीन योजना आवश्यक छ,’ उनले भने।
गुरुङले प्रहरी संगठनलाई आधुनिक, सक्षम र जनविश्वास जित्ने संस्थाका रूपमा विकास गर्न सरकार गम्भीर रहेको बताएका छन्।
