काठमाडौं । आन्दोलन नियन्त्रणका नाममा सडकमा उत्रिएको प्रहरी संगठन यतिबेला आफ्नै व्यवहारका कारण प्रश्नको घेरामा परेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियन्त्रणमा लिएपछि चर्किएको आन्दोलनबीच एक यस्तो दृश्य सार्वजनिक भएको छ, जसले प्रहरी नेतृत्वको आचरणमै गम्भीर प्रश्न उठाएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईले आफ्नै मातहतका प्रहरी जवानमाथि लाठी प्रहार गरेको भिडियो सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ। आन्दोलनकारीलाई नियन्त्रण गर्ने जिम्मेवारी बोकेका प्रहरी स्वयं आफ्नै कमाण्डरबाट कुटिनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न अहिले सर्वत्र उठिरहेको छ।
घटनास्थलमै सार्वजनिक रूपमा एक वरिष्ठ अधिकृतले आफ्नै जवानमाथि बल प्रयोग गर्नु सामान्य प्रशासनिक कमजोरी मात्र होइन, यो नेतृत्वको संयमता र पेशागत मर्यादामाथिको गम्भीर आघातका रूपमा हेरिएको छ। अझ गम्भीर कुरा त के भने कुन कारणले यस्तो कदम चालियो भन्नेबारे हालसम्म कुनै आधिकारिक स्पष्टीकरण आएको छैन।
यदि ड्युटीमा खटिएका कुनै जवानबाट कमजोरी भएको थियो भने त्यसका लागि स्पष्ट विभागीय प्रक्रिया, कारबाही र अनुशासनात्मक संयन्त्र प्रहरी संगठनभित्र विद्यमान छन्। तर, ती सबै प्रक्रिया लत्याएर आन्दोलनकै बीच सार्वजनिक रूपमा आफ्नै जवानमाथि लाठी प्रहार गर्नु के सन्देश दिन खोजिएको हो?
प्रहरी वृत्तमै यस्तो व्यवहारले फिल्डमा खटिएका जवानहरूको मनोबल कमजोर बनाउने, नेतृत्वप्रतिको विश्वास डगमगाउने र आदेश प्रणालीमै नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरिएको छ।
यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ- के अनुशासन केवल तल्लो तहका लागि मात्र हो? कि नेतृत्व तह पनि त्यही मापदण्डभित्र पर्छ?
घटनाबारे निष्पक्ष छानबिन, पारदर्शी जवाफदेहिता र जिम्मेवार अधिकारीमाथि कारबाहीको माग तीव्र बन्दै गएको छ। अन्यथा, आन्दोलन नियन्त्रणको नाममा देखिएको यो दृश्यले प्रहरी संगठनभित्रै अविश्वासको आगो सल्काउने खतरा बढ्दै गएको छ।
