काठमाडौँ । संसारको पाँचौँ अग्लो तथा नेपालको चौथो अग्लो हिमाल मकालु आरोहणका लागि प्रस्थान गर्न लागेका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) नन्दलाल चौधरीलाई नेपाल प्रहरीको तर्फबाट सम्मानसहित बिदाइ गरिएको छ।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले सई चौधरीलाई राष्ट्रिय झण्डा तथा नेपाल प्रहरीको झण्डा हस्तान्तरण गर्दै सफल आरोहणका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी कार्कीले प्रहरी संगठन केवल शान्ति सुरक्षा कायम गर्ने निकाय मात्र नभई साहस, समर्पण र राष्ट्रप्रतिको गौरव अभिवृद्धि गर्ने संस्थाको रूपमा समेत स्थापित हुँदै गएको उल्लेख गरे।
उनले चौधरीको मकालु आरोहणले नेपाल प्रहरीको अन्तर्राष्ट्रिय छवि अझ उचो बनाउने विश्वास व्यक्त गरे। ‘यो अभियान केवल व्यक्तिगत उपलब्धि मात्र होइन, सम्पूर्ण नेपाल प्रहरी संगठनको गौरवसँग जोडिएको विषय हो,’ आइजीपी कार्कीले भने।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, शिद्धी विक्रम शाह र उमा प्रसाद चतुर्वेदी, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
नेपाल प्रहरीका एक अधिकृतले विश्वकै कठिन हिमालमध्ये एक मानिने मकालु आरोहणमार्फत प्रहरी संगठनको साहस र प्रतिबद्धता विश्वसामु प्रस्तुत हुने विश्वास व्यक्त गरे।
