काठमाडौं । प्रहरी संगठनमा तीन दशक लामो सेवा पूरा गरेर अवकाश जीवन बिताइरहेका पूर्व एआईजी विज्ञानराज शर्मा यतिबेला फेरि शक्तिकेन्द्रित बहसको केन्द्रमा उभिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने दौडमा सक्रिय देखिएका उनीमाथि पुराना विवाददेखि नयाँ आरोपसम्म एकपछि अर्को गरी थपिँदै गएका छन्।
सबैभन्दा बढी चासोको विषय बनेको छ- उनको कथित सम्बन्ध गुन्डा नाइके राजु गोर्खालीसँग। प्रहरी स्रोतहरूका अनुसार एसएसपी रहँदा नै गोर्खालीसँग उनको नजिकको सम्बन्धबारे प्रश्न उठेको थियो।
करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दामा फरार रहेका गोर्खालीलाई शर्माले आफ्नै गाडीमा राखेर हिँडिरहेका बेला प्रहरीले रोकेर नियन्त्रणमा लिएको घटना अझै पनि प्रहरी वृत्तमा चर्चाको विषय बन्ने गरेको छ। त्यतिबेला शर्माले आफ्नो पदको प्रभाव देखाउँदै परिचयपत्र प्रस्तुत गरेको दाबीसमेत गरिएको थियो।
अचम्म त के छ भने, ती विवादहरू सेलाउन नपाउँदै पछिल्लो समयसमेत शर्मा र गोर्खालीबीचको सम्बन्ध कायमै रहेको दाबी स्रोतहरूले गरेका छन्। उनीहरू प्रायः बिहान सँगै मर्निङ वाकमा निस्किने गरेको चर्चा सुरक्षा निकायभित्रै हुने गरेको छ। यद्यपि, यसबारे शर्माले हालसम्म कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।
यता, भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा सदस्य बनेर काम गरेका शर्मा त्यही जिम्मेवारीकै कारण थप विवादमा तानिएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले साढे पाँच महिना लगाएर छानबिन पूरा गरी फागुन २४ मा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझायो। तर, प्रतिवेदन बुझाउने समय र त्यसपछिको गतिविधिले प्रश्न उठाएको छ।
आयोगमा रहँदा अन्य सदस्यभन्दा बढी ‘चलखेल’ गरेको आरोप शर्मामाथि लागेको छ। विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूमाथि पूर्वाग्रह राख्दै विभागीय कारबाही र फौजदारी अनुसन्धान सिफारिस गर्न उनले सक्रिय भूमिका खेलेको एक उच्च प्रहरी अधिकृतको दाबी छ।
झन् गम्भीर कुरा त के छ भने, प्रतिवेदन अन्तिम रूप लिनुअघि नै संसदमा बलियो उपस्थिति बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग भेटेर शर्माले आफ्नो आगामी गन्तव्य अख्तियारबारे छलफल गरेको बताइन्छ। रास्वपाका एक उच्च पदाधिकारीका अनुसार शर्माले आफूलाई आयुक्तका लागि ‘उपयुक्त उम्मेदवार’ का रूपमा प्रस्तुत गर्दै त्यहाँ काम गर्ने इच्छा प्रकट गरेका थिए।
अख्तियारका आयुक्त किशोर सिलवाल मंसिर २५ देखि अवकाशमा गएपछि रिक्त रहेको स्थानमा नियुक्त हुन शर्मा सक्रिय रूपमा लबिङमा लागेको स्रोतहरूको दाबी छ। आयोगको प्रतिवेदन बुझाएलगत्तै उनी सोही दिशामा तीव्र गतिमा अघि बढेको आरोप लागिरहेको छ।
एकातिर गुन्डा नाइकेसँगको कथित निकटता, अर्कोतिर छानबिन आयोगभित्रको भूमिका र त्यसपछि देखिएको राजनीतिक पहुँच, यी सबै तथ्यहरूले शर्माको अख्तियार यात्रा विवादरहित छैन भन्ने स्पष्ट संकेत गर्छन्।
अख्तियारजस्तो संवेदनशील र भ्रष्टाचारविरुद्धको मुख्य संवैधानिक निकायमा नियुक्ति पाउने व्यक्तिको विगत, आचरण र पारदर्शिता उच्चस्तरको हुनुपर्ने हुन्छ। तर, शर्मामाथि उठेका यी प्रश्नहरूबीच उनको सम्भावित नियुक्तिले संस्थाको विश्वसनीयतामै असर पर्ने हो कि भन्ने चिन्ता बढ्दै गएको छ।
