काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले करिब एक महिनापछि नयाँ नेतृत्व पाउनेछ। वर्तमान महानिरीक्षक राजु अर्याल आफ्नो चारवर्षे कार्यकाल पूरा गर्दै अवकाशतर्फ उन्मुख भएसँगै संगठनभित्र भावी कमाण्डर को बन्ने भन्ने विषयले तीव्र चर्चा पाएको हो।
अर्यालपछि सशस्त्रको १३औं महानिरीक्षक बन्ने दौडमा मुख्यतः नारायणदत्त पौडेल र बंशीराज दाहाल देखिएका छन्। दुवै जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन् र संगठनभित्र लामो अनुभव बटुलेका अधिकृतका रूपमा चिनिन्छन्।
यद्यपि, बरियताका आधारमा हेर्दा पौडेल अगाडि देखिन्छन्। उनी दाहालभन्दा सिनियर अधिकृत हुन् र एआईजी पदमा पनि पहिल्यै बढुवा भइसकेका कारण स्वाभाविक रूपमा उनको दाबी बलियो मानिएको छ।
संगठनभित्रको परम्परागत अभ्यासअनुसार बरियतालाई नै प्रमुख आधार मानिने भए पनि अन्तिम निर्णय भने राजनीतिक नेतृत्वले गर्ने भएकाले समीकरण सधैं त्यहीअनुसार अघि बढ्छ भन्ने निश्चित छैन। यही कारणले दाहालको सम्भावनालाई पनि हल्का रूपमा लिन नसकिने जानकारहरू बताउँछन्।
दाहालले पनि विभिन्न जिम्मेवारीमा काम गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेको र नेतृत्व सम्हाल्न सक्ने अधिकारीका रूपमा आफूलाई स्थापित गरिसकेका छन्।
सशस्त्र प्रहरीको भावी नेतृत्वबारे चर्चा हुँदा विगतका उदाहरण पनि उत्तिकै सान्दर्भिक रूपमा उठ्ने गरेका छन्। विशेषगरी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्दा बरियतामा अगाडि रहेका अधिकारीहरूलाई ‘बाइपास’ गरिएको घटना अहिले पनि स्मरण गरिन्छ। उक्त घटनाले सुरक्षा निकायमा नेतृत्व चयन सधैं बरियता मात्रको आधारमा नहुने संकेत दिएको थियो।
त्यसैले यसपटक अब बन्ने रास्वपा नेतृत्वको सरकारले कस्तो मापदण्ड अपनाउँछ भन्ने विषय महत्त्वपूर्ण बनेको छ। हालको राजनीतिक समीकरण, भावी सरकारको संरचना र नेतृत्व चयनमा अपनाइने मापदण्डले अन्तिम निर्णयमा प्रभाव पार्ने देखिन्छ।
कतिपयले बरियतालाई नै प्राथमिकता दिइने अनुमान गरे पनि केहीले कार्यसम्पादन, राजनीतिक विश्वास र समन्वय क्षमताजस्ता पक्षलाई पनि हेरिने बताउँछन्।
सशस्त्र प्रहरी बलको नेतृत्व चयन केवल एक व्यक्तिको नियुक्ति मात्र नभई संगठनको भावी दिशा र कार्यशैलीसँग पनि जोडिएको विषय हो।
सीमासुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षालगायतका संवेदनशील जिम्मेवारी सम्हाल्दै आएको एपीएफका लागि सक्षम र प्रभावकारी नेतृत्व अत्यन्त आवश्यक मानिन्छ। यस्तो अवस्थामा भावी आईजीले संगठनलाई कसरी अघि बढाउँछन् भन्ने प्रश्न पनि सँगसँगै जोडिएको छ।
यता संगठनभित्रका अधिकारी तथा कर्मचारीहरू पनि नयाँ नेतृत्वप्रति उत्सुक देखिन्छन्। नेतृत्व परिवर्तनसँगै नीति, प्राथमिकता र कार्यशैलीमा समेत केही परिवर्तन आउने अपेक्षा गरिन्छ। त्यसैले भावी आईजी को बन्छ भन्ने विषय केवल पद पूर्तिको विषय नभई समग्र संगठनको भविष्यसँग जोडिएको रूपमा हेरिएको छ।
अहिलेसम्मको अवस्थालाई हेर्दा पौडेल अग्रस्थानमा देखिए पनि दाहालको चुनौती कायम नै छ। अन्ततः सरकारले गर्ने निर्णयले नै सशस्त्र प्रहरी बलको नयाँ कमाण्डर को बन्ने भन्ने टुंगो लगाउनेछ। त्यसका लागि अब करिब एक महिना कुर्नुपर्ने अवस्था छ, जसले यो प्रतिस्पर्धालाई अझ चासोपूर्ण बनाएको
