काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की कै उपस्थितिमा प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारले प्रहरी प्रशासनको भूमिका र कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्।
राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै सुनारले प्रहरीलाई राज्यको ‘पहिलो अनुहार’ भन्दै निष्पक्ष र प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिए। उनले प्रहरी कुनै पनि राजनीतिक वा अन्य प्रभावमा नपर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
‘प्रहरी दायाँ–बायाँ प्रभावमा पर्नु हुँदैन,’ उनले भने, ‘अहिलेसम्म मुद्दा लिन नमानेको, लिए पनि कमजोर बनाउने प्रवृत्ति देखिन्छ, यो अन्त्य हुनुपर्छ।’
उनले पीडितले न्याय नपाउने अवस्था रहिरहे राज्यको औचित्यमाथि नै प्रश्न उठ्ने बताए। प्रहरी प्रशासनले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।
सुनारले थप कडाइका साथ चेतावनी दिँदै कुनै पनि जिल्लामा जातीय विभेदसम्बन्धी घटना भए त्यसको जिम्मेवारी सम्बन्धित प्रशासनले लिनुपर्ने बताए। ‘सिडिओ र एसपी वा डीएसपी जबाफदेही हुनुपर्छ,’ उनले भने।
उनका अनुसार प्रहरीको निष्पक्षता र सक्रियता बिना न्याय सम्भव छैन। उनले प्रहरी संगठनले विगतमा देखिएको कमजोरी सुधार्दै प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
