काठमाडौँ । अहिले सामाजिक सञ्जालमा प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको एउटा भिडिओ भाइरल छ । मधेशी भएकै कारण प्रहरीलाई हेपिएको भन्दै उक्त भिडिओको चौतर्फी चर्चा र विरोध भइरहेको छ ।
भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले देशको जुनसुकै ठाउँमा गएर काम गर्न पाउने अधिकार रहेको भन्दै खेद प्रकट गरेका छन् । उनीहरूले ‘प्रहरीलाई त मधेशी भएकै कारण यसरी हेपिन्छ भने, सर्वसाधारण मधेशीले कति अपमान सहनुपर्ला ?’ भन्दै प्रश्नसमेत गरेका छन् ।
१९ मार्च बिहान ७:२५ मा ‘Madhesh poeple’ नामको फेसबुक पेजले सो भिडिओ सार्वजनिक गरेको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “जब एउटा प्रहरी मधेशी भएको कारण यति हेपाइ खान्छ त सर्वसाधारण मधेशी लाई कस्तो हुन्छ 😞😞”
भिडिओमा महिलाहरूले भनेको सुन्न सकिन्छ: हामीलाई नि कारबाही गर्नु तर उहाँलाई यहाँ बस्न दिँदैनौँ । सरुवा एनिहाउ हामी गर्छौँ, त्यति हो ल ।
क्यामेरा पछाडिबाट केही पुरुषले प्रहरीलाई प्रश्न गरेका छन् : तपाईँको नाम चाहिँ के हो ? के हो पूरा नाम ?
पृष्ठभूमिबाट प्रहरीसँगै बसेका व्यक्तिले भनेका छन् : मणिकान्त झा ।
पुरुष: झा ? जाऊ उतै मधेशतिर अब ।
प्रहरी इन्स्पेक्टरले हात जोड्दै भनेका छन्: हजुर हस् ।
पुरुष: आफ्नै घरतिर, सजिलो पनि हुन्छ ।
अर्का पुरुष: के छ र खेतीपाती छैन र ?
पुरुष: तपाईँले खेती-किसानी गरेर बस्नुस् न, ट्राफिकमा चाहिँ खाएर काम छैन ।
उक्त भिडिओमा ‘Online news’ को लोगो देखिएको छ । भिडिओलाई एक लाख ५० हजारभन्दा धेरै पटक हेरिएको छ ।
भिडिओ हेरेर फेसबुक प्रयोगकर्ता ‘Rabendra Kushwaha’ लेख्छन्, “पहाडतिर सबभन्दा बढी देख्ने गरिन्छ ।”
अर्का प्रयोगकर्ता कृष्णप्रसाद पाण्डेले लेखेका छन्, “यसरी हेप्नु राम्रो होइन । उहाँ नेपाली हो, नेपालभरि जागिर खान पाउने अधिकार छ । अपशब्द बोल्नेलाई कारबाही होस् ।” नवराज तिवारीले पनि उक्त भिडिओमा बोल्ने व्यक्तिहरूलाई कारबाहीको माग गर्दै कुनै पनि नागरिकले देशको कुनै पनि स्थानमा काम गर्न पाउने संवैधानिक अधिकार रहेको उल्लेख गरेका छन् । कतिपय प्रयोगकर्ताले भने भिडिओ छोटो भएकाले वास्तविक विवादको कारण नखुलेको तर जात र भूगोलका आधारमा प्रहरीमाथि गरिएको टिप्पणी पूर्णतः गलत भएको बताएका छन् ।
नेपाल यादव युवा संघ नामको फेसबुक पेजले पनि उक्त भिडिओमा प्रहरीप्रति गरिएको व्यवहारको विरोध जनाएको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “कुन जात हो ? झा हो ? ए ल ल, मधेश तिरै जा, खेतीपाती गर ! — यस्तो सोच र शब्दहरू आज पनि जिउँदै छन् । यो केवल मजाक होइन, यो गहिरो विभेद हो। यो केवल शब्द होइन, यो पहिचानमाथिको प्रहार हो। प्रश्न उठ्छ — आखिर कहिलेसम्म हामीले यस्तो अपमान सहिरहने ?”
के हो भाइरल भिडिओको वास्तविकता ?
उक्त भिडिओ भाइरल भएको पाइएपछि भिडिओको किफ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्यौँ । २५ मे २०२१ मा ‘online news’ मा “भर्खरै ज्वाला संग्रौलासँग प्रहरीको झन्डै हात हालाहाल ! चर्काचर्की नै पर्यो, यसरी सम्झाए Inspector ले” शीर्षकमा सार्वजनिक गरेको भिडिओ सामाग्री फेला पर्यो ।
सो समयमा नेपालमा कोभिड १९ को दोस्रो लहर चलेका कारण निषेधाज्ञा जारी थियो । भिडिओमा सबै व्यक्तिहरू मास्क लगाएका छन् ।
२५ मिनेट २ मिनेट लामो उक्त भिडिओमा अहिलेकी प्रतिनिधि सभा सदस्य ज्वाला सङ्ग्रौलासहित शर्मिला वाइबा र प्रेसको पोसाकमा रहेका केही व्यक्तिहरू आक्रोशित देखिन्छन् । उनीहरूलाई प्रहरी निरीक्षकले सम्झाइरहेको देखिन्छ । निरीक्षकले लगाएको ब्याचमा ‘रविन्द्र कुमार श्रेष्ठ’ लेखेको देख्न सकिन्छ । सोही भिडिओको २४:४९ देखि २५:०१ मिनेटमा ‘मधेशितरै जानु, उतै खेती किसानी गरेर बस्नु’ भन्ने आशयको अभिव्यक्ति दिएको सुनिन्छ ।
उक्त भिडिओमा कोभिड महामारी बढेपछि राहत र स्वास्थ्य सामग्री लिएर नुवाकोट जान लागेको ज्वाला सङ्ग्रौला लगायतले बताएका छन् । यसरी जाने क्रममा गाडीलाई नियन्त्रण लिएको, चिट काटेको र अपशब्द बोलेको भन्दै प्रहरी अधिकारीहरूसँग उनीहरू आक्रोशित देखिन्छन् ।
भिडिओ हेर्दा ट्राफिक प्रहरीले सवारी चालकसँग लाइसेन्स माग गर्दा लाइसेन्स नभएको र फोटोकपी देखाएपछि विवाद सुरु भएको देखिन्छ । ड्युटीमा रहेका प्रहरी जवान (प्रभु गौतम) ले उनीहरूलाई ‘साले’ जस्ता अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको सङ्ग्रौला लगायतले दाबी गरेका छन् ।
सर्वसाधारणले प्रहरीको व्यवहारको भिडिओ खिच्न खोज्दा प्रहरी असई मणिकान्त झाले लाइसेन्स नभई भिडिओ खिचेकोले साइबर क्राइमको मुद्दा लगाइदिने भन्दै धम्की दिएको समेत उनीहरूले दाबी गरेका छन् ।
प्रहरी जनताको सेवक हुनुपर्नेमा उल्टै अपशब्द प्रयोग गर्नु र थर्काउनु गलत भएको उनीहरूको भनाइ छ । सार्वजनिक स्थलमा ड्युटी गरिरहेको प्रहरीको भिडिओ खिच्नु ‘साइबर क्राइम’ नहुने र यो नागरिकको अधिकार भएको उनीहरूले तर्क गरेका छन् । उनीहरूले अभद्र व्यवहार गर्ने प्रहरीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुस्
विवाद बढ्दै जाँदा प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले संयमित भएर परिस्थितिलाई सम्हाल्ने प्रयास गरेका थिए । उनले आफ्ना जुनियर कर्मचारीबाट गल्ती भएको भए ‘इन्चार्ज’ को नाताले माफी माग्ने र दोषीलाई सचेत गराउने प्रतिबद्धता जनाएका थिए । तर, निरीक्षकले सम्झाउँदै गर्दा पनि टोलीले असई झालाई लक्षित गर्दै मधेश जान र खेतीपाती गर्न भन्दै टिप्पणी गरेको भिडिओमा प्रष्ट सुनिन्छ ।
उनले कतिपय प्रहरी जवानहरू कम पढेका वा गाउँबाट आएका हुनाले उनीहरूको बोल्ने शैलीमा समस्या हुन सक्ने र कामको दबाबले गर्दा पनि यस्तो भएको हुनसक्ने भन्दै बचाउ गरेका छन् । उनले भिडिओ प्रमाण हेरेर दोषी कर्मचारीलाई सचेत गराउने र आगामी दिनमा यस्तो व्यवहार नदोहोर्याउन तालिम दिने प्रतिबद्धता जनाएका छन् ।
तर प्रहरी निरीक्षकले सम्झाउँदै गर्दा पनि उनीहरूको असई झासँग बारम्बार विवाद भइरहेको देखिएको छ । सोही भिडिओको अन्त्यमा सङ्ग्रौलाले झाको सरुवा गर्ने चेतावनी दिएको र अन्यले मधेशमा नै गएर खेतीपाती गरेर बस्नू भनेको सुन्न सकिन्छ ।
अहिले भाइरल गराइएको छोटो क्लिपलाई लिएर धेरैले प्रहरी निरीक्षकलाई मधेशी सम्झेर टिप्पणी गरिरहेका छन् । यद्यपि, सो विवाद असई मणिकान्त झा र सङ्ग्रौलाको टोलीबिच केन्द्रित थियो भने निरीक्षक श्रेष्ठले विवाद सम्झाउन पहल गरेका थिए ।
भनाभन चलिरहँदा सङ्ग्रौला र शर्मिला वाइबाको टोलीले असई झालाई लक्षित गरेर ‘मधेशतिरै जाऊ, खेतीपाती गर’ भन्ने आशयको अभिव्यक्ति दिएको पाइयो । करिब पाँच वर्षअघिको सोही भिडिओलाई अहिले सामाजिक सञ्जालमा पुनः चर्चामा ल्याइएको हो ।
Teachpana
