काठमाडौँ । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामाबारे पार्टीले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन ।
‘६ चैतमा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ । राजीनामा दिने अधिकार र निर्णय सभापतिको हो, उहाँले दिनुभएको छ,’ पार्टीका एक पदाधिकारीले थापाको राजीनामा पुष्टि गर्दै भने, ‘तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकको अधिकार हो ।’
२७ देखि ३० पुससम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । तर उक्त महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ ।
रोचक पक्ष के छ भने विशेष महाधिवेशनको आयोजनामाथि असहमति जनाएका नेताहरू नै नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
