काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको सक्रिय पहलमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत्त सिंहदरबारले आफ्नै नाममा जग्गाको लालपुर्जा प्राप्त गरेका छन्।
लामो समयदेखि भोगाधिकारमा मात्रै प्रयोग हुँदै आएका प्रहरी कार्यालयका जग्गाहरूलाई कानुनी रूपमा नेपाल प्रहरीको नाममा नामसारी गर्ने प्रक्रिया पूरा भएपछि अब ती स्थानमा आधुनिक र सुविधायुक्त भवन निर्माणको बाटो खुलेको हो।
आईजीपी कार्कीले प्रहरी संगठनको नेतृत्व सम्हालेपछि देशका विभिन्न स्थानमा प्रहरीका भौतिक पूर्वाधार सुदृढ गर्ने अभियानलाई प्राथमिकता दिएका छन्। सोही अभियानअन्तर्गत विभिन्न स्थानमा जग्गा प्राप्ति, कार्यालय भवन निर्माण तथा पूर्वाधार विकासका कार्यहरू तीव्र रूपमा अघि बढाइएका छन्।
प्राप्त जग्गाहरूमा अत्याधुनिक सुविधायुक्त प्रहरी भवन निर्माणका लागि आवश्यक प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ। हालै मात्र आईजीपी कार्कीले विभिन्न स्थानमा निर्माण सम्पन्न भएका प्रहरी भवनहरूको उद्घाटन समेत गरेका छन्।
ती भवनहरू अन्तर्राष्ट्रिय संस्था United Nations Office for Project Services को सहयोग तथा आन्तरिक स्रोतबाट निर्माण भएका हुन्।
प्रहरी अधिकारीहरूका अनुसार आफ्नै स्वामित्वको जग्गा र व्यवस्थित कार्यालय भवन भएपछि सेवा प्रवाहमा सहजता आउने, कार्यसम्पादन प्रभावकारी बन्ने र तल्लो तहका प्रहरी कर्मचारीहरूको मनोबल समेत उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।
