वीरगञ्ज । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपाल नै तस्करीको संरक्षणमा लागेको आरोप सार्वजनिक भएपछि पर्सा जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। सीमा सुरक्षाको जिम्मेवारी सम्हालेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण अन्तर्गत कार्यरत घुमुवा टोली र तस्कर समूहबीच मिलेमतो भएको पाइएको हो।
स्थानीय स्रोतका अनुसार पर्साको सीमा क्षेत्रमा सक्रिय सशस्त्र प्रहरीका घुमुवा टोलीहरूले तस्करहरूसँग सेटिङ मिलाएर विभिन्न नाकाबाट तस्करी गराउने गरेको चर्चा व्यापक रूपमा फैलिएको छ। उक्त गतिविधिमा गणका प्रमुख तथा प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको समेत संलग्नता रहेको बताइएको छ।
एसपी क्षेत्रीले आफ्नै मातहतका केही प्रहरी कर्मचारीलाई ‘घुमुवा’का रूपमा परिचालन गर्दै तस्करीको लाइन खुल्ला गराउने र त्यसबापत रकम असुल्ने गरेका छन्। विशेषगरी सशस्त्र प्रहरी सहायक हवल्दार ऋषीकान्त साह, हवल्दार जयमङ्गल गुप्ता र सिपाही राजाबाबु साहलाई घुमुवा टोलीका रूपमा परिचालन गरिएको बताइएको छ।
यिनै घुमुवा टोलीमार्फत जिल्लाका विभिन्न तस्कर समूहसँग समन्वय गरेर तस्करी गराउने र त्यसबापत नियमित रकम असुल्ने गरिएको आरोप छ। स्रोतका अनुसार सहायक हवल्दार साहको नेतृत्वमा रहेका गुप्ता र राजाबाबु साह जस्ता घुमुवा नामधारी व्यक्तिहरू लामो समयदेखि तस्करहरूसँग मिलेर ‘सुरक्षा’ उपलब्ध गराउँदै आएको भन्दै बदनाम हुँदै आएका छन्।

घुमुवा टोलीहरू तस्कर समूहसँग नियमित सम्पर्कमा रहने, सुरक्षाकर्मीको गतिविधिबारे सूचना चुहाउने तथा तस्करीका लागि सुरक्षित बाटो खुला गराउने काममा संलग्न रहेका छन्। यिनै घुमुवा टोलीको सेटिङमा पर्साका विभिन्न नाकाबाट करोडौँ रुपैयाँ बराबरको राजस्व छलि भइरहेको छ।
यसबीच, तस्करीसँग सम्बन्धित एक भिडियो रेकर्डिङ समेत सार्वजनिक भएको बताइएको छ, जसमा तस्कर र घुमुवा टोलीबीचको मिलेमतोबारे चर्चा भएको स्रोतको भनाइ छ।
यता, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु आर्यालले घुमुवा परिचालन नगर्न निर्देशन दिएको भए पनि पर्सामा भने त्यसको विपरीत गतिविधि भइरहेको आरोप छ। एसपी क्षेत्रीको नेतृत्वमा घुमुवा टोली परिचालन गरी तस्करीलाई संरक्षण दिएको भन्दै प्रहरी संगठनभित्रै समेत असन्तुष्टि बढ्दै गएको स्रोत बताउँछन्।
पर्सा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रका विभिन्न नाकाहरू—इनार्वा, भन्सार, छपकैया, खाल्वा–श्रीसिया, अमरपटी, प्रसौनी, सबैठवा, भिस्वा, मिर्जापुर, महादेवपट्टी, भिखमपुर र जानकीटोलाबाट व्यापक तस्करी भइरहेको स्थानीयहरू बताउँछन्।
यी नाकाहरू प्रयोग गरेर कपडा, औषधि, काजु, प्याज लगायतका दैनिक उपभोग्य सामग्री नेपाल भित्र्याइने गरेको छ। यस्तै किराना सामान, हार्डवेयर, मोबाइल तथा मोबाइल पार्ट्स, कम्प्युटर पार्ट्स र कबाडको नाममा विभिन्न सामानको अवैध आयात हुने गरेको आरोप छ।
यसका साथै ट्याक्टर प्रयोग गरेर धान, मकै, चिनी तथा कुखुराको चल्ला लगायतका कृषि तथा पशुपन्छीजन्य सामग्रीको समेत तस्करी हुने गरेको बताइएको छ।
स्रोतका अनुसार घुमुवा टोलीले विभिन्न तस्कर समूहबाट रकम उठाएर तस्करीको लाइन खुल्ला गराउने गरेको आरोप छ। जयमङ्गल गुप्ताले केही तस्करहरूसँगबाट हजारौँ रुपैयाँ उठाएर तस्करी सञ्चालन गराएको समेत दाबी गरिएको छ।
यस्तै, भिखमपुर क्षेत्रमा कुखुराको चल्ला तस्करी गर्ने समूहसँग समेत ठूलो रकम लिएर तस्करी गर्न छुट दिइएको स्रोतको भनाइ छ।
एसपी क्षेत्रीमाथि सीमा क्षेत्रमा तैनाथ बिओपी इन्चार्जदेखि गणका अन्य प्रहरी कर्मचारीसम्मलाई अघोषित रूपमा परिचालन गरेर तस्करीबाट रकम उठाउने संरचना बनाएको आरोप लागिरहेको छ।
यसरी सीमा सुरक्षाको जिम्मेवारी पाएको निकाय नै तस्करीसँग जोडिएको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ।
