टोकियो । जापानमा रहेका नेपाली युवाहरूबीच खेलकुदमार्फत आपसी सद्भाव, एकता तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले Non-Resident Nepali Association (NRNA) अन्तर्गत NRNA Japan ले “तेस्रो NRNA Futsal Running Cup 2026” आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार उक्त प्रतियोगिता आगामी ५ अप्रिल २०२६ (आइतबार) जापानको Fuji सहरमा सञ्चालन गरिनेछ। जापानभर रहेका नेपाली युवाहरू तथा खेलप्रेमीहरूलाई एउटै मञ्चमा ल्याई खेलकुदमार्फत मित्रता, सहकार्य र सामुदायिक एकतालाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूका लागि प्रवेश शुल्क ४१ हजार येन तोकिएको छ। आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिनेछ।
प्रतियोगिताको पुरस्कार संरचना अनुसार विजेता टिमले ४ लाख येन नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले २ लाख येन नगदसहित ट्रफी र मेडल पाउनेछन्। यस्तै सेमिफाइनलसम्म पुग्ने टिमहरूलाई ५० हजार येन नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ।
त्यसैगरी व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट खेलाडीहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। बेस्ट प्लेयर, हाई स्कोरर र बेस्ट गोलकिपर लाई जनही १० हजार येन नगदसहित ट्रफी वा मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता NRNA Japan Regional Committee को सहयोग तथा NRNA Japan LCC Shizuoka को सह–आयोजनामा सम्पन्न हुनेछ। प्रतियोगिताको प्राविधिक साझेदारका रूपमा Nepalese Football Association Japan रहेको छ भने मिडिया पार्टनरका रूपमा Goal Japan ले सहकार्य गर्ने जनाइएको छ।
आयोजकका अनुसार जापानभर रहेका नेपाली टिमहरू तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाई कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ।
थप जानकारीका लागि आयोजक समितिका प्रतिनिधिहरू दीप्स, सुमन पौडेल, सागर कार्की, नविन दीप, बिपिन श्रेष्ठ र देवेन्द्र तामाङ सँग सम्पर्क गर्न सकिने जनाइएको छ।
गैरआवासीय नेपाली संघ जापानले खेलकुदमार्फत जापानमा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउने तथा युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको जनाएको छ।
