काठमाडौं । जेएनजी प्रदर्शनका क्रममा उत्कृष्ट कमान्ड र भीड नियन्त्रणमा प्रभावकारी भूमिका खेलेका तीन प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पुरस्कृत गर्न सिफारिस गरिएको छ।
भदौ २३ र २४ गते भएको जेएनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले उक्त दिन काठमाडौं उपत्यकामा खटिएका तीन डीएसपीलाई पुरस्कृत गर्न सरकारसमक्ष सिफारिस गरेको हो।
आयोगले उनीहरूले भीड नियन्त्रणमा उत्कृष्टता प्रदर्शन गरेको तथा आफ्ना कार्यालयमाथि उच्छृंखल समूहले आक्रमण गर्दा समेत प्रभावकारी रूपमा जवाफी कारबाही गर्दै स्थिति नियन्त्रणमा लिएको विश्लेषण गरेको जनाएको छ।
पुरस्कारका लागि सिफारिस गरिएका डीएसपीहरूमा प्रहरी वृत्त थिमिमा कार्यरत नवराज ढुंगाना, प्रहरी वृत्त मालीगाउँमा कार्यरत सुनिलजंग शाह तथा प्रहरी वृत्त कालीमाटीका इन्चार्ज मधुकुमार थापा रहेका छन्।
आयोगले ती अधिकारीहरूले प्रतिकूल परिस्थितिमा समेत नेतृत्व क्षमता प्रदर्शन गर्दै शान्ति–सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पुरस्कृत गर्न सिफारिस गरेको हो।
