काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र नेपाल ल क्याम्पस बीच अपराध अनुसन्धानसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूबाट नेपाल प्रहरीले गर्ने अपराध अनुसन्धानमा देखिएका चुनौती, कमीकमजोरी तथा सुधार गर्नुपर्ने पक्षका विषयमा अनुसन्धान गरिनेछ।
सो अन्तर्गत “Money Laundering Investigation and Challenges in Nepal: Study of Law and Practices” तथा “Money Laundering Adjudication in Nepal: Comparative Study with Judicial Practice in USA and Singapore” शीर्षकमा अध्ययन गरिने जनाइएको छ।
सम्झौता पत्रमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. श्याम बहादुर कार्की र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर ले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा कार्की र राठौरसहित नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश पराजुली, किशोर सापकोटा, साथै नेपाल प्रहरीका एआईजी राजन अधिकारी, डीआईजी अरुण भण्डारी र सानुराम भट्टराई, वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्द मरासिनी तथा प्रहरी उपरीक्षकहरू प्रदीप ताम्राकार, कविन्द पौडेल, प्रदीप कुमार सिंह, अनिल कुमार खड्का र भागेन्द्र पुरुष ढकाल लगायतको सहभागिता रहेको थियो।
सम्झौतामार्फत विश्वविद्यालय र प्रहरीबीच सहकार्य बढाउँदै अपराध अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
