बारा । बाराका विभिन्न सीमा नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोशाकमा परिचालन गरिएका प्रहरी नायब निरीक्षक (सई) दिपक बस्नेतको संरक्षणमा तस्करी धन्दा फस्टाएको हो।
प्राप्त जानकारीअनुसार बलिरामपुर, मुशहार्वा, छतवा, मटिआर्वा, बसन्तपुर, आमवा, कोचोर्वा, क्वहिगुठी, पथलावाघाट, सिम्रौनगढ र हरनैया लगायतका नाकाबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, मोबाइल पार्टस, पानपराग, रजनीगन्धा, राजनिवास, गाई–गोरु, भैंसी तथा नेपालबाट ठूलो परिमाणमा कबाड सामग्रीको अवैध ओसारपसार भइरहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका विश्वासपात्र मानिएका सई बस्नेतको संरक्षणमा तस्करी लाइन खुला गरिएको आरोप स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार बस्नेतले तस्करहरूलाई जिल्ला प्रहरी कार्यालयमै बोलाएर आर्थिक लाभ लिने र त्यसपछि तस्करीका लागि सहज वातावरण बनाउने गरेको आरोपसमेत लागेको छ।
प्रहरी संगठनमा सादा पोशाकमा परिचालन गरिने घुमुवा प्रहरीको भूमिकाबारे विगतदेखि नै प्रश्न उठ्दै आएका छन्। सूचना संकलनका लागि खटाइने भनिए पनि कतिपय स्थानमा यिनै घुमुवा प्रहरीले रकम असुली र तस्करी संरक्षण गर्ने गरेको गुनासो आउने गरेको छ।
विशेषगरी मधेस प्रदेशका सीमा क्षेत्रमा यस्ता गतिविधि बढ्दो अवस्थामा रहेको बताइन्छ। बारामा भने मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट समेत मासिकरूपमा रकम असुली हुने गरेको र सो रकम सई बस्नेतमार्फत माथिल्लो तहसम्म पुग्ने गरेको आरोप केही प्रहरी स्रोतहरूले नै लगाएका छन्।
कतिपय चौकी प्रमुखलाई समेत एसपीको नाममा दबाब दिँदै रकम लिने गरेको खुलेको छ। लामो समय ट्राफिक प्रहरीमा कार्यरत रहेका बस्नेत हाल बाराको क्राइम शाखामा जिम्मेवारी सम्हाल्दै आएका छन्।
नाम नखुलाउने सर्तमा केही प्रहरी अधिकारीहरूले बस्नेतले विभिन्न युनिटमार्फत रकम उठाएर तस्करी लाइन खुला गराएका छन्। यस विषयमा मधेस प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा पटक–पटक उजुरी परेको भए पनि हालसम्म औपचारिक छानबिन हुन सकेको छैन।
स्रोतका अनुसार बस्नेतलाई उच्च तहको संरक्षण रहेको आशंका समेत व्यक्त गरिएको छ।
बाराका सीमा क्षेत्रमा बढ्दो तस्करी गतिविधि र प्रहरी संलग्नताको आरोपबारे मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया तथा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको ध्यान जानुपर्ने स्थानीय सरोकारवालाहरूले बताएका छन्।
