पर्सा । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–३ पुनः राष्ट्रिय चासोको केन्द्रमा पुगेको छ। गाउँ–गाउँ र टोल–टोलमा भइरहेको भेटघाट, छलफल र घरदैलो अभियानले यसपटकको प्रतिस्पर्धा सामान्य नभई राजनीतिक धार परिवर्तनको संकेत बोकेको देखिन्छ।
पर्साका ४ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–३ विशेष चासोमा पर्नुको प्रमुख कारण यहाँ देखिएको बहुआयामिक र रोचक प्रतिस्पर्धा हो। एकातिर लामो समयदेखि प्रभाव कायम राख्दै आएका काग्रेसका सुरेन्द्र चौधरी छन् भने अर्कोतर्फ वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त चौरसिया मैदानमा छन्।
साथै नेकपा एमालेका रुपेश पाण्डे , नेकपाबाट छोटेलाल यादव पनि प्रतिस्पर्धामा छन्। यद्यपि चुनावी माहोलमा मुख्यतः चौरसिया र चौधरी बीचको प्रत्यक्ष प्रतिस्पर्धाले बढी ध्यान तानेको छ, र चौरसियाले पुराना शक्तिहरूलाई एकसाथ चुनौती दिइरहेका छन्।
विगत एक दशक देखि निरन्तर पटकपटक गरि ४ पटक निर्वाचित हुँदै आएको चौधरीको राजनीतिक यात्रा अनुभव, संगठनात्मक मजबुती र स्थापित प्रभावको प्रतीकका रूपमा हेरिन्छ। दलगत संरचना, दीर्घ सम्बन्ध र क्षेत्रीय पकडले उनलाई बलियो उम्मेदवार बनाएको छ। तर लामो समय सत्ताको वरिपरि रहँदा पनि विकासको गति अपेक्षाअनुसार नदेखिएको, रोजगारी सिर्जनामा उल्लेख्य प्रगति नहुनु र पूर्वाधार विस्तार सुस्त देखिनुजस्ता विषयमा मतदाताले प्रश्न उठाइरहेका छन्।
‘पटक–पटक अवसर पाउँदा पनि परिणाम किन देखिएन?’ भन्ने जिज्ञासा यसपटक खुला रूपमा अभिव्यक्त भइरहेको छ।
वैकल्पिक नेतृत्वको उदय
यही पृष्ठभूमिमा रामाकान्त चौरसियाको प्रवेशले निर्वाचनलाई नयाँ आयाम दिएको छ। उनका समर्थकहरूको विश्वास छ कि, अनुशासन र परिणाममुखी कार्यशैली राजनीतिमा पनि प्रभावकारी रूपमा प्रयोग हुन सक्छ।
चौरसियाको अभियान प्रत्यक्ष संवादमा केन्द्रित देखिन्छ। विकास, पारदर्शिता, सुशासन र जवाफदेहितालाई प्राथमिक एजेन्डा बनाउँदै उनी मतदातासँग निरन्तर सम्पर्कमा छन्। यही सक्रियताले पर्सा–३मा उनको उपस्थिति दिनप्रतिदिन उल्लेखनीय बन्दै गएको विश्लेषकहरू बताउँछन्।
मतदाताको मनोविज्ञान : थकान र नयाँ खोज
मतदातासँग गरिएको संवादमा परम्परागत राजनीतिक शक्ति र दोहोरिँदै आएका अनुहारप्रति थकान र असन्तुष्टि झल्किन्छ। पर्सा पोखरीया ६० वर्षीय योगेन्द्र पटेल भन्छन्, ‘अब पार्टीभन्दा पनि एजेन्डा हेरेर नेतृत्व छान्ने समय आएको छ।’
लहावरथकरीका –की ४५ वर्षीया ओमप्रकाशका अनुसार, ‘देशलाई अब भिजन, योजना र इमानदार सोच भएका युवाको नेतृत्व चाहिन्छ।’ उनीजस्तै धेरै मतदाता सुरक्षित वातावरण, प्रभावकारी सेवा प्रवाह र गरिबमुखी नीतिको अपेक्षामा छन्।
धेरै मतदातामा ‘अब नयाँलाई जिताउनुपर्छ’ भन्ने भावना बलियो बन्दै गएको देखिन्छ। परम्परागत अभ्यासप्रति बढ्दो असन्तुष्टि परिवर्तनको पक्षमा झुकेको संकेतका रूपमा व्याख्या गर्न सकिन्छ।
