काठमाडौं । जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको मन्त्रिपरिषद्ले बुधबार बिहान सामूहिक राजीनामा दिएको छ। नयाँ संसद् अधिवेशन सुरु हुनुअघि संवैधानिक अभ्यासअनुसार उनले यस्तो कदम चालेकी हुन्।
गत अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले फेब्रुअरी ८ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि पुनः सत्तामा फर्किने बाटो सुरक्षित गरेकी छन्। निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले ४६५ मध्ये दुई तिहाइभन्दा बढी सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो।
यसपटक एलडीपीले पुरानो सहकार्यकर्ता कोमेइतोसँगको गठबन्धन अन्त्य गर्दै जापान इनोभेसन पार्टीसँग नयाँ सहकार्य सुरु गरेको छ। नयाँ राजनीतिक समीकरणसँगै सरकारको नीति–दिशामा केही रणनीतिक समायोजन हुने आंकलन गरिएको छ।
आजै बस्ने संसद्को विशेष अधिवेशनले ताकाइचीलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गर्ने लगभग निश्चित देखिएको छ। संसद्का दुवै सदनबाट अनुमोदन पाएपछि उनले आजै नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी छन्। विशेष अधिवेशन आगामी जुलाई १७ सम्म, करिब १५० दिन सञ्चालन हुने तय भएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार ताकाइचीको पुनरागमनले जापानको आन्तरिक स्थिरता सुदृढ बनाउनुका साथै क्षेत्रीय सुरक्षा र आर्थिक नीतिमा निरन्तरता दिने अपेक्षा गरिएको छ।
