काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न विरोध प्रदर्शन, बन्द–हड्ताल, मेला, पर्व तथा खेलकुद गतिविधिको प्रभावकारी व्यवस्थापनमा उल्लेखनीय भूमिका खेलेको भन्दै तीन जना प्रहरी अधिकृत पुरस्कृत भएका छन्।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराई र प्रहरी नायव उपरीक्षक (डिएसपी) कौशल कुमार बुढाथोकीलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै रेकर्डमा जनिने गरी सम्मान गरेको हो।
उनीहरूले संवेदनशील तथा भीडभाडयुक्त कार्यक्रमहरूको शान्तिपूर्ण व्यवस्थापन, सुरक्षा संयोजन र सम्भावित जोखिम नियन्त्रणमा सक्रिय नेतृत्व देखाएको कार्यालयले जनाएको छ।
त्यसैगरी, प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी जनार्दन घिमिरेलाई वृत्तका लागि ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने प्रक्रिया अघि बढाई पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको छ।
कार्यालयका अनुसार यस्ता पुरस्कारले कर्तव्यनिष्ठ र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्नुका साथै संगठनभित्र सकारात्मक प्रतिस्पर्धा र उत्प्रेरणा बढाउने विश्वास लिइएको छ।
