काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीलाई किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलबार उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार १८ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा नगरप्रमुख अधिकारीमाथि अनुसन्धान सुरु गरिएको हो। जाहेरीमा उल्लेख भएअनुसार किशोरी १७ वर्षको उमेरमा दुधौली नगरपालिकाभित्रै रहेको एक होटलमा कार्यरत रहँदा मेयर अधिकारीले जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।
प्रहरीका अनुसार उक्त घटनापछि किशोरी गर्भवती भएकी थिइन् र उनले २०८१ सालको फागुन महिनामा शिशु जन्माएकी छन्। शिशु जन्मिएपछि मात्रै घटना बाहिर आएको बताइएको छ।
पीडित पक्षले गत वैशाखमै प्रहरीमा जाहेरी दिएको थियो। तर जाहेरी परेपछि मेयर अधिकारी केही समय सम्पर्कबिहीन रहेका थिए। मंगलबार भने उनी आफैं जिल्ला प्रहरी कार्यालय पुगेपछि प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको जनाएको छ।
एसपी सुवेदीले घटनाबारे थप प्रमाण संकलन, पीडित र सम्बन्धित व्यक्तिहरूसँग बयान लिने तथा आवश्यक चिकित्सकीय र कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।
प्रहरीले घटनाको प्रकृति गम्भीर भएकाले निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गरिने जनाएको छ। अधिकारीविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता प्रक्रिया अगाडि बढाइएको छ।
