काठमाडौं । बंगलादेशका प्रधानमन्त्रीका रुपमा बंगलादेश नेशनलिष्ट पार्टी (बिएनपि)का अध्यक्ष तारिक रहमानको शपथग्रहणमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् । रहमानकी आमा एवं पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टिमा पनि परराष्ट्रमन्त्री शर्मा सहभागी भएका थिए । रहमानले प्रधानमन्त्रीका रुपमा मंगलवार शपथग्रहण गर्दैछन् ।
शपथग्रहण समारोहमा सहभागी हुन अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले निमन्त्रणा गरेका थिए । बंगलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा दक्षिण एशियाका सात मुलुकबाट सहभागीता हुनेछ । भारतबाट सभामुख ओम विरला, मालदिभ्सका राष्ट्रपति मोहम्मद मोइजु, भुटानबाट प्रधानमन्त्री छिरिङ तोब्गे, पाकिस्तानबाट योजना मन्त्री अहसन इकवाल, श्रीलंकाबाट स्वास्थ्यमन्त्री नलिन्दा जयतिसा सहभागी हुने तय भएको छ । मालदिभ्स र भुटानबाट कार्यकारी प्रमुखको सहभागीता हुनेछ । अफगानिस्तानबाट सहभागीताबारे स्पष्ट छैन ।
‘परराष्ट्र मन्त्रीको यो भ्रमणले नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने छ तथा पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काउँछ’ परराष्ट्र मन्त्रालयले सोमवार विज्ञप्तिमा भनेको छ । परराष्ट्रमन्त्री शर्माले बंगलादेशका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यस्तै, नेपाल र पोर्चुगलबीच द्धिपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र सचिव अमृतबहादुर राई त्यसतर्फ जाने कार्यक्रम छ । परराष्ट्रका अनुसार उनले २० फेब्रुअरीमा पोर्चुगलको लिस्बनमा आयोजना हुने नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू, पोर्चुगलका लागि नेपाली राजदूत तथा दूतावासका कर्मचारी सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा दुवै पक्षले नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै साझा चासोका विषयहरूमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यबारे छलफल गर्नेछन्।
लिस्बन बसाईका क्रममा परराष्ट्र सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नवनिर्मित नेपाली दूतावासको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । पोर्चुगलमा बसोबास गरिरहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग पनि उनले अन्तरक्रिया गर्नेछन् । हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपाली नागरिक विभिन्न पेशा तथा व्यवसायमा संलग्न रही बसोबास गरिरहेका छन् ।
