काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा दर्शनार्थीको अत्यधिक भीडपछि थुप्रिएको फोहोरमैला व्यवस्थापन गर्न पशुपति क्षेत्रमा बृहत सरसफाइ अभियान सञ्चालन गरिएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसर ‘सफा गरौं’ अभियानअन्तर्गत Creation Nepal ले ५ सयभन्दा बढी सफाइकर्मी तथा स्वयंसेवक परिचालन गरी सरसफाइ कार्य अघि बढाएको हो।
अभियानअन्तर्गत महाशिवरात्रीकै दिन बिहानदेखि बेलुकासम्म फोहोर बढी संकलन हुने स्थानहरूमा विशेष सरसफाइ गरिएको थियो। कार्यक्रम तीन दिनसम्म निरन्तर सञ्चालन हुने जनाइएको छ।
‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनाअन्तर्गत The Coca-Cola Foundation को सहयोगमा सञ्चालन गरिएको उक्त अभियान Pashupati Area Development Trust सँगको सहकार्यमा कार्यान्वयन गरिएको हो।
क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाका अनुसार लाखौं दर्शनार्थीको आगमनले फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले निजी क्षेत्रका सफाइकर्मीहरूसमेतको सहकार्यमा “सफा, पवित्र र हरित शिवरात्री” अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत जिम्मेवार फोहोर व्यवस्थापन, नागरिक सचेतना अभिवृद्धि तथा दिगो सरसफाइ संस्कृतिको विकासमा जोड दिइएको बताइएको छ।
यसै अवसरमा कोकाकोला फाउण्डेसनको सहयोगमा महाशिवरात्रीमा आएका दर्शनार्थी तथा भक्तजनलाई २० हजार बोतल जिरो सुगर पेय पदार्थ निःशुल्क वितरण गरिएको जनाइएको छ।
क्रिएसन नेपालले ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनामार्फत सहरी क्षेत्रमा दिगो फोहोर व्यवस्थापन, फोहोर न्यूनीकरण र स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।
