काठमाडौं । सेना दिवस तथा महाशिवरात्रिको अवसरमा टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डले गरेको परेड प्रस्तुतिको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राजनीतिक वृत्तमा नयाँ विवाद सुरु भएको छ ।
फागुन २१ गते प्रतिनिधिसभा सदस्य उपनिर्वाचन नजिकिँदै गर्दा यो घटनालाई लिएर विभिन्न पक्षबाट गम्भीर आरोप र प्रश्न उठेका छन् । नेपाली सेनाले यसलाई ‘नियमित मैत्रीपूर्ण अभ्यास’ भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।
शनिबार टुँडिखेलमा सेना दिवसको मुख्य समारोहमा अमेरिकी सेनाको ब्यान्ड टोलीले परेड प्रस्तुति दिएको थियो । अमेरिकी सैनिकहरूले आफ्नो राष्ट्रिय झन्डा बोकेर परेड खेलेको र नेपाली सेनासँग संयुक्त रूपमा मार्चपास गरेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा फैलिएपछि ‘अमेरिकी सेनाले नेपालमा परेड खेलेको’ भन्दै टिप्पणी र आरोप सुरु भए ।
केहीले यो घटनालाई जेनजी आन्दोलनमा ‘पश्चिमी शक्तिराष्ट्रको हात’ भएको दाबीसँग जोडेर हेरेका छन् भने अर्को पक्षले यसलाई ‘चुनावी मसला’ बनाउन खोजिएको आरोप लगाएका छन् ।
जंगी अड्डाको स्पष्टिकरण
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, ‘यो नियमित रूपमा आयोजना हुने समारोहमा अरू देशका सेनाको ब्यान्ड टिमले मैत्रीपूर्ण सहभागिता जनाउने गरेको छ । हामी पनि अरू देशमा सैनिक टुकडी लिएर जाने गर्छौं ।’
उनले थपे, ‘अस्ति भर्खरै भारतको सेना दिवसमा नेपाली ब्यान्ड पनि यसैगरी गएको थियो । त्यसको उद्घोष नेपाली भाषामै भएको थियो । आर्मी टु आर्मी अपरेसनअन्तर्गत विभिन्न कार्यक्रममा भाग लिने, संयुक्त अभ्यास गर्नेलगायतका काम नियमित प्रक्रिया मानिँदै आएको छ ।’
सेनाले विज्ञप्ति जारी गर्दै पनि यो कुरा दोहोर्याएको छ । ‘युवा आदानप्रदान कार्यक्रममा पनि हामी सहभागी हुन्छौं,’ प्रवक्ता बस्नेतले भने ।
नेपाल–अमेरिका सैन्य सम्बन्धको पृष्ठभूमि
नेपाल र अमेरिकाबीच सन् १९४७ देखि नै सैन्य सम्बन्ध रहेको छ । गणतन्त्रकालमा पनि विभिन्न सरकारका पालामा यस्ता सैन्य ब्यान्डका नियमित प्रस्तुति हुँदै आएका छन् । नेपाली सेनाका धेरै अधिकृतहरूले अमेरिकाको स्टाफ कलेजहरूमा अध्ययन गरेका छन् ।
अमेरिकी सेनाले पनि कार्यक्रम विशेषमा नेपाल आउने गरेको छ । नेपालले भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानलगायत देशहरूसँग संयुक्त सैन्य अभ्यास गर्ने गरेको छ । सेनाले यी सबै कार्यक्रम विगतमा जस्तै नियमित सञ्चालन हुने जानकारी दिएको छ ।
सेना दिवसको नियमित कार्यक्रमलाई लिएर उत्पन्न यो विवादले नेपालको विदेश नीति, सैन्य सम्बन्ध र चुनावी माहोललाई फेरि एकपटक बहसको विषय बनाएको छ । जंगी अड्डाले स्पष्ट पारे पनि सामाजिक सञ्जालमा बहस जारी छ । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा यस्ता घटनाले राजनीतिक तापक्रम बढाउने देखिन्छ ।
