काठमाडौं । बाराको सीमावर्ती पथलवाघाट र खजानी क्षेत्र यतिबेला संगठित तस्करीको प्रमुख ‘ट्रान्जिट’ बन्दै गएको आरोप छ। प्रत्यक्षदर्शी तथा स्थानीय स्रोतका अनुसार यी दुई नाकाबाट लत्ताकपडा, हार्डवेयर सामग्री, कवाड, भैंसी, गाई–गोरु, सुर्तीलगायतका सामानको ठूलो मात्रामा अवैध ओसारपसार निरन्तर भइरहेको छ।
स्थानीयका भनाइमा, पछिल्ला केही महिनायता तस्करी झनै व्यापक बनेको छ। ‘कुन नाका सहज र सुरक्षित हुन्छ, त्यही रोजेर तस्करी गर्ने पुरानै शैली अहिले पनि चलिरहेको छ,’ एक स्थानीयले भने।
प्रहरी सेटिङको आरोप
सबैभन्दा गम्भीर आरोप भने स्थानीय प्रहरी चौकीकै संरक्षणमा तस्करी भइरहेको भन्ने हो। स्रोतका अनुसार तस्करहरूले ‘लाइन’ मिलाएर नियमित मासिक बुझाउने व्यवस्था गरेका छन्। पथलवाघाट चौकी र खजानी चौकीलाई जिल्लाकै ‘आकर्षक’ र अतिरिक्त आम्दानी हुने पोस्टका रूपमा हेरिने गरिएको आरोप छ।
पथलवाघाटबाट करिब ४ सय मिटरको दूरीमा खजानी चौकी पर्छ। दुवै चौकी असई दर्जाको कमाण्डमा सञ्चालनमा छन्। जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार, यी पोस्टमा जान टेण्डर जस्तै प्रक्रिया चल्छ भन्ने चर्चा संगठनभित्रै छ- जसले बढी मासिक कबोल गर्छ, उसैले अवसर पाउँछ भन्ने गुनासो सुनिन्छ।
नामै तोकेर तस्कर
स्थानीय स्रोतले तस्करीको ‘लाइन’ पाउने व्यापारीहरूको नाम समेत सार्वजनिक गरेका छन्। तीमध्ये कपडा, हार्डवेयर, किराना, भैंसी र सुर्ती कारोबारसँग जोडिएका केही व्यक्तिहरू नियमित रूपमा ओसारपसारमा संलग्न रहेको दाबी गरिएको छ।
प्रहरी सेटिङ र संरक्षणमा पथलवाघाट र खजानीबाट तस्करीको लाइन पाउनेहरूमा माष्टर नामका तस्करले कपडा, नरेश यादवले मल र भैंसी, अरबिन्द साह र प्रविण साहले कपडा र हार्डवेयर, भोला साहले कपडा मात्र, प्रदिप साह, उपेन्द्र यादवले किराना र हार्डवेयर, नितेष यादवले सुर्ती र हार्डवेयर, रमाकान्त यादवले कपडा, मुकेश मुखियाले हार्डवेयर र कपडा, गोरे नवलले भैंसी, र दिनेश यादवले कपडा र हार्डवेयरको तस्कर गरिरहेका छन्।
यी तस्करहरुलाई जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले संरक्षण गरेको आरोप छ। एसपी कुँवरकै संरक्षणमा नाकामा खटिने प्रहरीहरुले उनीहरुलाई खुलेआम रुपमा तस्कर गर्न सघाइरहेको बताइन्छ।
गाँजा र चरेस तस्करीको मुख्य रुट
पथलवाघाट नाका नेपालतर्फबाट भारततर्फ हुने गाँजा तस्करीको मुख्य मार्गका रूपमा समेत चिनिएको स्थानीयको दाबी छ। धादिङ र मकवानपुरका पहाडी क्षेत्रमा उत्पादित गाँजा तथा चरेस यही नाकाबाट भारत पठाइने गरेको स्रोतको भनाइ छ।
सुरक्षा निकायले भने हरेकपटक ‘२४ घण्टा निगरानीमा छौं, तस्करी नियन्त्रणमा गम्भीर छौं’ भन्ने औपचारिक प्रतिक्रिया दिने गरेका छन्। तर स्थानीयको अनुभव भने फरक देखिन्छ। ‘निगरानीको दाबी कागजमा मात्रै छ, जमिनमा त तस्करी झन् बढेको छ,’ एक व्यवसायीले आरोप लगाए।
माथिल्लो तहको निर्देशन कार्यान्वयनविहीन
नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख गोविन्द थपलियाले बाराका नाकाबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न पटक–पटक निर्देशन दिएको स्रोत बताउँछ। त्यस्तै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रण र संगठन शुद्धीकरणमा जोड दिँदै आएका छन्।
तर केन्द्र र प्रदेश तहबाट आएका निर्देशनहरू बारा जिल्लामा प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन्।
सीमावर्ती क्षेत्रमा खुलेआम तस्करी चलिरहँदा सम्बन्धित निकायको मौनता र सुस्ततामाथि प्रश्न उठेको छ। अब प्रश्न उठ्छ- के पथलवाघाट र खजानी नाकामा साँच्चै प्रहरी–तस्कर गठजोड छ? यदि छैन भने, निरन्तर उठिरहेका आरोपको निष्पक्ष छानबिन किन हुँदैन?
तस्करी नियन्त्रणका नाममा निर्देशन जारी हुने तर कार्यान्वयन नहुने प्रवृत्तिले सीमावर्ती क्षेत्र झन् असुरक्षित बन्दै गएको स्थानीयको गुनासो छ। सम्बन्धित निकायले तत्काल छानबिन गरी यथार्थ सार्वजनिक गर्नु अपरिहार्य देखिएको छ।
