काठमाडौं । काठमाडौंको कीर्तिपुरमा ६० लाख रूपैयाँ नगद लुटेको आरोपमा प्रहरीले पूर्व हवल्दारसहित थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका पूर्व प्रहरी हवल्दार रमेशबहादुर बुढा र इलाम घर भएका दीपक राई छन् ।
‘सस्तो दरमा बिल सहितका सुन दिन्छौं’ भनेर आरोपीहरुले पीडितलाई कीर्तिपुरमा बोलाएर माघ १४ मा ६० लाख लुटेका थिए । कीर्तिपुरस्थित एबीगाडो क्याफेमा भएको लुटपाटमा संलग्न थप दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रामेश्वर कार्कीले बताए ।
यसअघि विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत हवल्दार कर्णबहादुर सुनुवारसहित ४ जना पक्राउ परेका थिए । यसअघि हवल्दार सुनुवार, काभ्रेको रोशी गाउँपालिका–१० घर भएर सूर्यविनायक बस्ने २७ वर्षीय दीपक आले मगर, रसुवा घर भएका ३२ वर्षीय विक्रम तामाङ र नुवाकोटको ककनी गाउँपालिका घर भएका २८ वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् ।
लुटको योजना पूर्वहवल्दार बुढाले बनाएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । बुढा यसअघि लागुऔषध (खैरो हेरोइन) मुद्दामा १० वर्ष जेल बसेर निस्केका थिए । २०६९ मा उनी जेल परेको सीआरएस रेकर्डमा देखिएको छ ।
लुटमा संलग्न दीपक राई पनि यसअघि चोरी मुद्दामा पक्राउ परेर अदालतमा मुद्दा खेपिरहेका अभियुक्त हुन् ।
