काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न गोष्ठीमा ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले सडक सुरक्षा कुनै एक निकायको मात्र दायित्व नभई सबै सरोकारवालाको साझा जिम्मेवारी भएको स्पष्ट पारे। उनले सडक प्रयोगकर्ता, सडक विभाग, यातायात व्यवस्था विभाग, सवारी साधन धनी तथा यातायात व्यवसायी सबैले आफ्नो जिम्मेवारी र जवाफदेहिता बहन नगरेसम्म दिगो सडक सुरक्षा सम्भव नहुने बताए।
सडक प्रयोगकर्ताले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिँदै उनले समन्वय र सहकार्यको अभावमा सडक दुर्घटना न्यूनीकरण सम्भव नहुने उल्लेख गरे। ‘सडक सुरक्षामा सुधार ल्याउन नीति, प्रविधि र जनचेतना तीनै पक्ष सँगसँगै अघि बढ्नुपर्छ,’ उनले भने।
महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै जनस्तरबाट प्राप्त सहयोग र सद्भावले ट्राफिक प्रहरीलाई थप प्रेरित गरेको बताए। गोष्ठीबाट प्राप्त ज्ञान, अनुभव र अन्तरक्रियाले ट्राफिक प्रहरीको व्यावसायिक क्षमता, विश्लेषणात्मक सोच, निर्णय क्षमता र नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले सडक सुरक्षालाई संस्थागत प्राथमिकतामा राख्न निजी क्षेत्र पनि प्रतिबद्ध रहेको बताइन्।
यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरे भने ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले क्षमता अभिवृद्धि तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
गोष्ठीले सडक प्रयोगकर्ता, ट्राफिक प्रहरी तथा अन्य सरोकारवालाबीच व्यावसायिक निकटता र सहकार्य थप मजबुत बनाउँदै सडक सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
