काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले आसन्न निर्वाचनका क्रममा नेपाल प्रहरी वा निर्वाचनमा खटिएका कर्मचारीलाई सहयोग आवश्यक परे आदेशको पर्खाइ नगरी तत्काल परिचालन हुन देशैभरका युनिटलाई निर्देशन दिएका छन्।
माघ २७ र २८ गते गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा अवस्थाबारे स्थलगत अनुगमनका क्रममा आईजी अर्यालले भूकम्पजस्ता विपद्मा स्वतः परिचालन भएझैं निर्वाचनमा पनि आवश्यक परे तुरुन्त खटिन र त्यसपछि मुख्यालयलाई जानकारी गराउन स्पष्ट निर्देशन दिए।
‘आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो,’ उनले भने।
मंगलबार उनले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालन हुने निर्वाचन सुरक्षाकर्मीलाई उच्च आत्मविश्वासका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। सोही दिन स्याङजा र पाल्पाका युनिटहरूको अनुगमन गर्दै उनले जिल्लास्तरीय सुरक्षा समितिसँग छलफल गरेका थिए। स्याङजास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालसहित सुरक्षा अधिकारीहरूसँग बैठक गरी निर्वाचन सुरक्षाको तयारीबारे जानकारी लिएका थिए।
निर्वाचन विथोल्ने प्रयासलाई असफल बनाउन सबै सुरक्षा निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउँदै उनले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि कुनै कमजोरी नगर्न निर्देशन दिए। स्याङजाका प्रमुख जिल्ला अधिकारी अर्यालले महानिरीक्षकको स्थलगत अनुगमनले जिल्लाको सुरक्षा व्यवस्थापनमा थप ऊर्जा मिलेको प्रतिक्रिया दिए।
आईजी अर्यालले स्याङजा वालिङस्थित नं. ३० गुल्म, गल्याङ निर्वाचन सुरक्षा बेस तथा पाल्पास्थित नं. ३५ गुल्मको निरीक्षण गरी तयारी अवस्थाबारे जानकारी लिए। पाल्पामा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक झुपा कुमारी पन्थीले सुरक्षा तयारीबारे ब्रिफिङ गरेकी थिइन् भने प्रमुख जिल्ला अधिकारी विनु बज्रचार्य कुँवरसहित सुरक्षा समितिका पदाधिकारीहरूसँग जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाबारे छलफल भएको थियो।
बुधबार उनले गुल्मी जिल्लाको निर्वाचन तयारी र शान्ति सुरक्षाबारे पनि जानकारी लिएका छन्। लुम्बिनी प्रदेशमा समेत उनले स्थलगत भ्रमण र अनुगमन गरी सुरक्षा तयारीको मूल्यांकन गरेका छन्।
यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सुदूरपश्चिम प्रदेश अन्तर्गत नं. ७ बाहिनी मातहतका युनिटहरूको अनुगमन गर्दै निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी लिएका छन्।
