काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले जापानमा रोजगारीका नाममा भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली राजदूतावास, टोकियो (जापान) बाट प्राप्त सूचनाका आधारमा विभागले जापानमा वैदेशिक रोजगारसम्बन्धी विभिन्न अनियमित गतिविधि बढ्दै गएको भन्दै सचेत गराएको हो।
विभागका अनुसार जापानमा व्यावसायिक कुक, केयरगिभर, सीपयुक्त तथा अन्य कामदार लगाउने बहानामा व्यक्तिगत श्रम स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था उल्लंघन गर्दै गैरकानुनी रूपमा काम र तलबको आश्वासन दिने, चर्को शुल्क असुल्ने तथा सम्झौताअनुसार काम र पारिश्रमिक नदिने गुनासोहरू प्राप्त भएका छन्।
सूचनामा उल्लेख भएअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नपाएका विभिन्न कम्पनी, संस्था तथा व्यक्तिहरूले जापानमा काम लगाइदिने आश्वासन दिई नक्कली कागजात तयार पार्ने, व्यक्तिगत श्रम स्वीकृतिका लागि आवेदन गराउने र ठूलो रकम असुल गर्ने जस्ता कार्यहरू गरेको पाइएको छ। यस्तो कार्य वैदेशिक रोजगार ऐन विपरीत भएकाले दोषी उपर कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।
साथै, जापान रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई प्राप्त भिसाको प्रकार, रोजगारदाता, कम्पनी वा संस्थासँग भएको करार सम्झौता (COE), तथा कामको आधिकारिक विवरणबारे पूर्ण जानकारी लिएर मात्र श्रम स्वीकृतिका लागि आवेदन गर्न विभागले अनुरोध गरेको छ। कसैले पनि जापान पठाइदिने नाममा भिसा, COE वा करार सम्झौता उपलब्ध गराइदिने भन्दै रकम मागेमा तत्काल सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरिएको छ।
त्यस्तै, Transport Driver Candidate Visa अन्तर्गत व्यक्तिगत श्रम स्वीकृतिका लागि विगतमा पेश भएका केही निवेदनहरूमा जापानमा ड्राइभिङ लाइसेन्सको परीक्षा उत्तीर्ण गरेपछि मात्र रोजगार सुनिश्चित हुने अवस्था रहेको र स्वदेशमै रोजगारदाता खोज्नुपर्ने भएकाले उक्त भिसा प्रकारमा श्रम स्वीकृति जारी नगरिने स्पष्ट गरिएको छ।
वैदेशिक रोजगार विभागले जापान रोजगारीका नाममा हुने कुनै पनि किसिमका ठगी, अनियमितता र गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने दोहोर्याउँदै आम नागरिकलाई सचेत र सावधान रहन आग्रह गरेको छ।

